भाषा परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन – Nepal Press

भाषा परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । दक्षिण कोरिया रोजगारीमा जानका लागि इपिएस भाषा परीक्षा पास गरेर बसेका नेपाली कामदारलाई तत्काल पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस भाषा परीक्षा पास गरेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको यस्तो निर्देशन दिइएको समितिले जनाएको छ । इपिएस भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार नेपाली कामदारले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी गरेका थिए ।

समितिले उजुरीको सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरेर तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा इपिएस परीक्षा पास गरेका कामदारलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको चर्को आलोचना गरेका थिए ।

समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका कामदारलाई अझै दक्षिण कोरिया नपठाएर सरकारले निर्लज्जता प्रकट गरेको भन्दै आपत्ति जनाए । समितिका सदस्य राधेश्याम अधिकारीले उडान र सबै कामदारको तत्काल खोपको व्यवस्था गरी दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी इपिएस परीक्षा उर्तिण गरेका कामदारलाई छिट्टै दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले कोभिड संकटका कारण उनीहरुले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि समितिका सदस्यलाई जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि जहाजको आवश्यक व्यवस्था मिलाउन नसक्दा इपिएस भाषा परीक्षा पास गरेर पनि कामदारलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई भएको स्पष्ट पारे । उनले ती समस्या समाधान गर्ने कामलाई अघि बढाइएको पनि समितिलाई जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कोरियाका लागि जाने नेपाली कामदारका लागि कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौंताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *