किरण केसी भन्छन् – कब्जा गरिएको जग्गा मेरो होइन, चरित्रहत्या भयो – Nepal Press

किरण केसी भन्छन् – कब्जा गरिएको जग्गा मेरो होइन, चरित्रहत्या भयो

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कलाकार किरण केसीको माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गर्‍यो । तर, कलाकार केसीले सो जग्गा आफ्नो नभएको प्रष्टीकरण दिएका छन् ।

वैद्य माओवादीले शनिबार दिउँसो एक बजे चितवनमा रहेको जग्गामा झण्डा गाडेको थियो । अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी-वान प्रालिले प्लटिङ गरेको जग्गा कब्जामा लिइएको संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले नेपाल प्रेसलाई जानकारी दिएका थिए । माडी नगरपालिका-२ पौहारी (बरुवा बजारभन्दा केही परको गाउँ) को प्लटिङ जग्गालाई कब्जा गरिएको हो ।

केसीले भने विभिन्न सञ्चारमाध्यमले आफ्नो नाम जोडेर समाचार लेख्दा चरित्रहत्या भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनका अनुसार उनी सो जग्गाको मालिक नभएर ब्रान्ड एम्बेस्डर मात्र हुन् ।

नेपाल प्रेसको कुराकानीमा केसीको भनाइ जस्ताको तस्तैः

किरण केसीले के भने ?

खोइ के भन्नु । मेरो विषयमा आएको समाचार देखेर अचम्ममा परेको छु । एउटाले किरण केसी ‘राता मकै’ को ४० विघा जग्गामा नेकपा क्रान्तिकारी माओवादीले झण्डा गाड्यो भनेर लेख्छ । अर्कोले फेरि मेरो ५० विघा जग्गा कब्जा गर्दै वैद्य माओवादीले गरिव निमुखालाई बाँड्यो भनेर लेख्छ ।

मेरो कुनै पार्टीप्रति र नेताप्रति कुनै टिप्पणी छैन । तर, नेपालको कानून त नेकपा क्रान्तिकारी माओवादीलाई पनि लाग्छ होला नि । नेपालमा लोकतन्त्र ल्याउनका लागि त हामीले पनि योगदान गरेका छौ । झण्डा गाडिसकेपछि जग्गा कसको हो भनेर किन नबुझेको होला ? समाचार लेख्नेले पनि यो जग्गा कसको हो भनेर मलाई एक पटक सोध्नुपर्थ्यो कि पर्दैन ?

कुरा के हो भने यो जग्गा मेरो नाममा छैन । म त्यो ट्वान्टी-वान प्रालिसँग पनि आवद्ध छैन । ममात्र तीन वर्षको लागि ट्वान्टी-वान प्रालिको ब्राण्ड एम्बेसडर नियुक्त भएको हो । यो जग्गा ट्वान्टी-वान प्रालि कम्पनीको नाममा पनि छैन । उसले पनि जग्गा लिनका लागि बैनामात्र गरेको हो । मेरो यतिकै चरित्र हत्या गर्न खोजियो ? ४० वर्ष गरेको योगदान सबै खोला-पहिरोमा किन फाल्न खोजियो ?

हुन त मैले यसलाई एउटा प्रचारप्रसारका रूपमा पनि लिएको छु । कहाँ जोडिने, कता जोडिने र कोसँग जोडिने भन्ने मलाई पाठ सिकाएको छ यो घटनाले ।

जिल्ला प्रशासन कार्यालय चितवनमा झण्डा गाडेका पार्टीका नेतादेखि कम्पनीका व्यक्तिको सर्वदलीय छलफल भइरहेको छ भन्ने खवर पाएको छु । यसमा माडी नगरपालिकाले पनि आफ्नो धारणा सार्वजनिक गर्ला । जग्गा कसको भो भनेर बुझ्दै नबुझी झण्डा गाड्नु पनी त गैरकानूनी काम हो नि, होइन र ?

मैले बुझेअनुसार ४० देखि ५० होइन कि, १८ देखि २० विघा जग्गा ट्वान्टी-वान प्रालिले लिनका लागि बैना गरेर माडी नगरपालिकामा स्वीकृति लिनका लागि निवेदन दिएको छ । उसले पनि कम्पनीका नाममा बनाइसकेको छैन । म कम्पनीको ब्राण्ड एम्बेस्डर भएकाले आवश्यकता परेको बेला सहयोग गर्छु । । म त ट्वान्टी-वान प्रालीको मात्र होइन धेरै कम्पनीको ब्राण्ड एम्बेस्डर छु नि । अनि तिनका जग्गा सबै मेरा हुन्छन् त ?

माडी गएको बेलामा त्यो जग्गामा बेला-बेलामा गइन्छ । कलाकार भएकाले त्यहाँ हिडेको देखेर सबैले राता मकैको जग्गा भन्दा रहेछन् । सबैका मुखमा त राता मकैको जग्गा भयो, तर व्यवहारमा मेरो भएन नि । यस बारेमा थप जानकारी चाहिएमा माडी नगरपालिकासँग बुझ्नसक्नुहुनेछ ।

म भर्खरैमात्र एक लाखभन्दा बढी राशीको वासुदेव लुईंटेल पुरस्कारबाट पुरस्कृत भएँ । यो हाँस्यव्यंग्यको एकदमै ठूलो पुरस्कार हो । यसमा मेरो सबै आफन्तले बधाई दिए तर कुनै पनि मिडियाले समाचार लेखेनन् । यस्ता गलत समाचार चाहिँ भाइरल बनाए । त्यसैले मलाई सारै दु:ख लागेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर