थुनुवा आत्महत्या प्रकरण : पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन – Nepal Press

थुनुवा आत्महत्या प्रकरण : पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयको धनुषा हिरासतमा थुनुवा थुनुवा पल्टु रबिदासले झुण्डिएर आत्महत्या गरेको घटनामा पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठ पनि मुछिएका छन् ।

शुक्रबार बिहान हिरासतको शौचालयमा लक्ष्मीनियाँ गाउँपालिका-२ का थुनुवा ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए । तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । पीडित परिवारले ‘आत्महत्या होइन्, हत्या हो’ भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैन ।

मृतकका परिवार, आफन्त र दलित अगुवा आन्दोलित बनेका छन् । उनीहरुले शनिबार साँझ जनकपुर-ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियाँ चोकमा चक्का जाम गरेका थिए । सो क्रममा चार जनाको पुत्ला जलाइयो । जसमध्ये एक हुन्- पूर्वमन्त्री महासेठ । उनको पुत्लामा लेखिएको थियो, ‘घरायसी झगडामा मुद्दा दिलाउन माहिर दलालोका बाप रघुवीर महासेठ ।’

मृतक रबिदासको घर रहेकै धनुषा क्षेत्र नम्बर- ४ बाट निर्वाचित संघीय सांसद हुन् महासेठ । महासेठबाहेक लालजी साह, राजकिशोर रबिदास र शम्भु यादवको पनि पुत्ला जलाइयो । तीनै जनालाई स्थानीयले दलालको संज्ञा दिएका छन् ।

स्थानीय भन्छन्- अग्नु रबिदास र पल्टु (जो आत्महत्या गरे)सँग हातेपम्पको विषयमा सामान्य विवाद भएको थियो । तर अग्नुलाई उक्साएर तीनै जनाले नेता महासेठबाट प्रहरीलाई दबाब दिन लगाएर पल्टुमाथि मुद्दा दर्ता गराइयो । यदि मिलापत्र गराइदिएको भए, पल्टुलाई जेल जानु पर्दैन थियो । र आत्महत्या गर्नुपर्ने अवस्था आउने थिएन ।

०७७ चैत ११ मा पल्टु (मृतक) र भाइ अग्नुबीच लफडा भएको थियो । उनीहरुबीच आपसमा सामान्य कुटाकुट भएको थियो । स्थानीयले झगडा छुटाए । तर झगडामा अग्नुको टाउको फुट्यो । स्थानीयका अनुसार प्रहरीमै मुद्दा दर्ता गराउने खालको घटना नै थिएन । तर मिलापत्र गराउनुको साटो अग्नुलाई उक्साएर ‘दलालहरु’ले प्रहरीमा मुद्दा दर्ता गर्न लगाए ।

कुटपिट तथा अंगभंग मुद्दा दर्ता भए पनि करिब ३ महिनासम्म पल्टु पक्राउ परेका थिएनन् । दबाब दिएपछि गत असार २२ मा पल्टुलाई प्रहरीले पक्रेको स्थानीयको भनाइ छ । उनलाई प्रहरीले अदालतमा पेश गर्दा २ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

तर २ लाख धरौटी बुझाउने क्षमता पल्टुसँग थिएन, बुझाएनन् । प्रहरीले उनलाई सिन्धुली कारागार पठाउने तयारी गरेको थियो । तर उनी आफूले लगाएको गन्जीलाई पासो बनाएर हिरासत कक्षकै शौचालयमा झुण्डिए । उनले आत्महत्या गर्नुको कारण गरिबी पनि रहेको प्रहरी अधिकारी बताउँछन् ।

मृतककी पत्नी रणुले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

उनले भनिन्, ‘घटना हुनुभन्दा दुई दिनअघि मात्र हिरासतमा श्रीमानलाई भेट्न गएको थिएँ । त्यतिबेला ती तीनैजना ‘दलाल’ प्रहरी कार्यालयमा थिए ।

बिहानै आत्महत्या गर्दा पनि प्रहरीले साढे १० बजे जानकारी गराएको र मुख समेत हेर्न नदिएको पीडा उनले सुनाइन् ।

रेणु मृतक पल्टुका दोस्रो श्रीमती हुन् । जेठी श्रीमतीको निधन भएपछि उनले दोस्रो बिहे गरेका थिए । पहिलो श्रीमतीतर्फ एक छोरा र एक छोरी (बिहे भइसकेको) छन् । दोस्रो श्रीमती अर्थात् रेणुतर्फ ८ र ३ वर्षकी छोरी छन् ।

पट्लुको मृत्युपछि परिवारको बिजोग भएको छ । उनीहरुको जम्मा ६ धुर जग्गा छ । ‘न घरमा सुत्ने अवस्था छ, न खाने अन्न छ । ज्याला मजदुरी गरेपछि जसोतसो घर चल्थ्यो’ रेणुले अर्धचेत अवस्थामा भनिन् ।

दलित अगुवाहरुको माग अनुसार प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति समेत गठन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर