धनुषामा जैविक मल उद्योगको शिलान्याश, एक वर्षभित्र सञ्चालनमा आउने – Nepal Press

धनुषामा जैविक मल उद्योगको शिलान्याश, एक वर्षभित्र सञ्चालनमा आउने

जनकपुरधाम । देशभर मलको हाहाकार भइरहेको बेला धनुषाको धनुषाधाम नगरपालिका– ३ मा जैविक मल उत्पादन गर्ने उद्योग बन्ने भएको छ ।

शनिबार प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले उद्योगको शिलान्यास गरेका हुन् । २८ करोडको लागतमा आरोह फर्टिलाइजर प्रालिले सो उद्योग स्थापना गर्नेछ । एक वर्षभित्रै उत्पादन सुरु गर्ने उद्देश्यका साथ काम अगाडि बढाएको कम्पनीका म्यानेजिङ डाइरेक्टर आङकामी लामाले जानकारी दिए ।

उनका अनुसार उद्योगमा प्रयोग हुने मेसिनहरु भारतबाट ल्याउनुपर्ने हुन्छ । बन्द हडताल र कोरोनाका कारण समस्या नभए एकवर्ष अगावै उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । प्रतिवर्ष ७ हजार ५ सय मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य छ ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर लामा भन्छन्, ‘रसायनिक मलले उर्वर जग्गालाई बिगारेको छ । तर जैविक मलले बिग्रेको जग्गालाई सुधार्ने काम गर्छ । यो रसायनिक मलभन्दा आधा सस्तो पनि हुन्छ ।’

शिलान्यास समारोहमा बोल्दै कृषिमन्त्री साहले स्थापना हुन लागेको मल उद्योगले प्रदेश २ का किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

‘देशभर हरेक वर्ष ७ लाख मेट्रिक टन मलखाद किसानलाई आवश्यकता पर्छ’, मन्त्री साहले भने, ‘तर कुनै वर्षमा पनि ३ देखि ४ लाख मेट्रिक टनभन्दा बढी आयात गरिएको छैन । समयमा किसानले मल नै पाइरहेको अवस्था छैन । त्यसैले प्रदेशमा मल उद्योग स्थापना हुनु खुशीको कुरा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर