गृह मन्त्रालयले भन्यो : दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसक्यो – Nepal Press

गृह मन्त्रालयले भन्यो : दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसक्यो

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको जनाएको छ । यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले आवश्यक निर्देशन भइसकेको एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

उक्त घटनाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई त्यसको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । घटनाको वास्तविक सत्यतथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ४४ नं गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको
विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनास्थल सदरमुकामबाट पाँच घण्टा पैदल दूरीमा रहेको हुँदा टोली फर्किएपछि यर्थात् जानकारी प्राप्त हुने मन्त्रालयले जनाएको छ । घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकाले सत्यतथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना एवं समाचार प्रकाशित नर्गन पनि मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर