विघटित कार्यदल सदस्यहरुले निकाल्न सकेनन् निचोड, स्थायी कमिटी बैठकमा जानेबारे नेपाल पक्ष मौन – Nepal Press

विघटित कार्यदल सदस्यहरुले निकाल्न सकेनन् निचोड, स्थायी कमिटी बैठकमा जानेबारे नेपाल पक्ष मौन

काठमाडौं। नेकपा (एमाले)को विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफल पनि कुनै ठोस निचोडमा नपुगि सकिएको छ। अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा कार्यदलका सदस्यहरु सिंहदरबारस्थित एमाले संसदीय दलका उपनेताको कार्यकक्षमा छलफलमा जुटेका थिए।

झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले छलफलको कुनै ठोस निष्कर्ष भने सुनाउन सकेनन्। उपनेता सुवास नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको बताए।‘हाम्रो बीचमा निरन्तर सम्पर्क छ, छलफल छ,’ उनले भने, ‘हामी पार्टी एकताका पक्षमा निरन्तर लागि रहेकै छौं।’

नेता गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए। ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौं,’ बिष्टले भने, ‘हामीले कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ, यसबीचमा देखापरेका कतिपय समस्या र अविश्वास पनि हामीले थप प्रयत्नमार्फत समाधान गर्नुपर्छ भन्ने हिसाबले छलफल गर्यौं।’

बिष्टले एकतामा धेरै ढिला हुँदा पार्टीमा क्षति पुग्ने बताए। उनले भने, ‘धेरै ढिला गर्दा यसले पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने ढंगबाट छलफल भएको छ।’ अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट किन हुन सकेन भन्ने प्रश्नमा उनले आफूहरुको प्रयत्न जारी रहेको बताए। ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको जुन प्रसँग चलेको छ, यसलाई मुख्य आधार बनाएर हामीले छलफल गरेका छौं। भेटघाटका लागि निरन्तर पहल भइरहेको छ।’

दिउँसो बोलाएको स्थायी कमिटी बैठकमा जाने, नजाने बारे भने कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरुले केही प्रतिक्रिया दिन मानेनन् । उपनेता नेम्वाङले भने अब एमालेमा कुनै पक्ष नरहेको दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर