माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ – Nepal Press

माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

रुपन्देही । एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी लुम्बिनी प्रदेश सांसद पद गुमाएका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यो मुद्दाको सुनुवाई आज बिहीबारदेखि सुरु हुनेछ ।

लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषण पत्रका आधारमा निर्वाचनमा लडेको उनीहरुको जिकिर छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन पेश गरेको र आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरुका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए ।

माओवादी केन्द्रमै रहेको दावीसहित नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेताले अदालतमा रिट दिएको सार्वजनिक भएसँगै न्यौपाने र पन्थी पनि अदालत गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर