जवरजस्ती करणी, कर्तव्य ज्यान र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतले बढे – Nepal Press

जवरजस्ती करणी, कर्तव्य ज्यान र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतले बढे

काठमाडौं । नेपालमा पछिल्ला वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतसम्मले बृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको पछिल्लो चार वर्षको तथ्यांकले यस्तो देखाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा कर्तव्य ज्यानका मुद्धा २५ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४-०७५ मा ६ सय २८ वटा कर्तव्य ज्यानका मुद्धा दर्ता भएकोमा ०७५÷०७६ मा बढेर ६ सय ५९ पुगेको छ । यस्तै ०७६-०७७ मा घटेर पाँच सय ५५ पुगे पनि ०७७-०७८ मा भने बढेर ६ सय ९७ पुगेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुवँरले जानकारी दिए ।

ज्यान मार्ने उद्योगका घटना पनि २० प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४-०७५ मा सात सय २८, ०७५-०७६ मा नौ सय २७, ०७६-०७७ मा आठ सय ६९ र २०७७-०७८ मा एक हजार ५१ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् ।

जवरजस्ती करणीका घटना १८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४-०७५ मा एक हजार चार सय ८० वटा घटना भएकोमा ०७५-०७६ मा अघिल्लो वर्षको तुलनामा एकै वर्षमा ५० प्रतिशतले अर्थात सात सय ५० वटा घटना बृद्धि भएर दुई हजार दुई सय ३० वटा घटना भएका छन् । त्यस्तै ०७६-०७७ मा दुई हजार एक सय ४४ वटा जवरजस्ती करणीका घटना भएकोमा ०७७-०७८ मा दुई हजार पाँच सय ३४ वटा घटना भएका छन् ।

आत्महत्याका घटना पनि १४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष ०७४-०७५ मा पाँच हजार तीन सय १७ वटा घटना भएकोमा ०७५-०७६ मा पाँच हजार सात सय ५४, ०७६-०७७ मा ६ हजार दुई सय ४१ र ०७७-०७८ मा सात हजार एक सय १७ वटा घटना भएका छन् । गत वर्ष दैनिक औसत १९ जनाले आत्महत्या गरेका पाइएको छ ।

गत वर्ष आत्महत्याका सात हजार एक सय १७ वटा घटनामध्ये सबैभन्दा बढी झुन्डिएर पाँच हजार सात सय २० जनाले आत्महत्या गरेका छन् भने दोस्रोमा विष खाएर एक हजार दुई सय ७६ जनाले हाम फालेर ४६ जनाले, पानीमा हाम फालेर ३६ जनाले, आगो लगाएर १९ जनाले, हातहतियार औजारबाट १८ जनाले र करेण्ट लगाएर दुई जनाले ज्यान गुमाएका छन् ।

जवरजस्ती करणी उद्योगका घटना पनि छ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४-०७५ मा सात सय २७, ०७५-०७६ मा सात सय ८६, ०७६-०७७ मा छ सय ८७ र ०७७-०७८ मा सात सय ३५ वटा घटना भएका छन् । लागु औषध पनि चार प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष ०७४-०७५ मा तीन हजार ८८, ०७५-०७६ मा तीन हजार सात सय दुई, ०७६-०७७ मा दुई हजार आठ सय ८५ र ०७७-०७८ मा तीन हजार १३ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार जबरजस्ती करणीका प्रतिदिन औसतमा सात वटा घटना दर्ता भएका छन् ।

संगठित अपराध, बैंकिङ कसुर र मानव बेचविखन २५ देखि ४६ प्रतिशतले घट्दै

सबैभन्दा बढी संगठित अपराध ४६ प्रतिशतले घटेको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४-०७५ मा १७ वटा संगठित अपराधका घटना भएकोमा ०७५-०७६ मा १२ वटा, ०७६-०७७ मा २६ वटा र ०७७-०७८ मा १४ वटा घटना भएका छन् । दोस्रोमा बैंकिङ कसुरका घटना पनि २८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा सात सय ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा ०७५-०७६ मा तीन हजार एक सय ६७, ०७६-०७७ मा तीन हजार तीन सय नौ र ०७७-०७८ मा दुई हजार तीन सय ७३ वटा घटना भएका छन् ।

तेस्रोमा मानव बेचविखन तथा ओसारपसारका घटना २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ तीन सय आठ, ०७५-०७६ मा दुई सय ४७, ०७६-०७७ मा एक सय ६४ र ०७७-०७८ मा एक सय २२ घटना भएका छन् । चोरी पनि दुई प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा एक हजार छ सय २८, ०७५-०७६ मा दुई हजार आठ सय ७३, ०७६-०७७ मा दुई हजार चार सय ५१ र ०७७-०७८ मा दुई हजार तीन सय ८२ वटा चोरीका घटना भएका छन् ।

साईबर अपराध पनि ११ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा साईबर अपराधका एक सय घटना भएकोमा ०७५-०७६ मा एक सय ६७, ०७६-०७७ मा एक सय १७ र ०७७-०७८ मा एक सय चार वटा घटना भएका छन् ।

वार्षिक अपराध दर्ताको संख्या चार प्रतिशते घट्दै

पछिल्ला चार वर्षको अवधिमा वार्षिक अपराध दर्ताको संख्या चार प्रतिशतले घटेको छ । पहिलो वर्षको तुलनामा दोस्रो वर्षमा बढे पनि त्यसपछि क्रमश तीन वर्षमा घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा ३९ हजार तीन सय १५ वटा अपराधका घटना दर्ता भएकोमा ०७५-०७६ मा बढेर ४३ हजार ५१ घटना दर्ता भएका छन् ।

तर पछिल्लो वर्ष ०७६-०७७ मा भने घटेर ४१ हजार आठ सय ९८ र ०७७-०७८ मा ४० हजार एक सय २० वटा अपराधका घटना दर्ता भएका छन् । तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७७-०७८ मा अनुपातमा प्रति दिन एक सय १० वटा घटना प्रहरीमा दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर