बारा र सप्तरीको थाँती राखेर क्रियाशील छानबिनको प्रतिवेदन बुझाइने – Nepal Press

बारा र सप्तरीको थाँती राखेर क्रियाशील छानबिनको प्रतिवेदन बुझाइने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउँदैछ । १० बजेपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने बैठकमै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

समितिले बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकोले केन्द्रीय समितिलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।

नवीकरणतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्याइएको छ । सर्लाही क्षेत्र नम्बर २ र धनुषा ४ को विवाद पनि समितिले टुंग्याएको छैन ।

समितिका सदस्य जीवन परियारले अधिकाशं काम टुंग्याएर प्रतिवेदन बुझाउन लागिएको र थोरै मात्र बाँकी रहेको बताए । बाँकी कामबारे केन्द्रीय समितिले निर्णय गरे अनुसार हुनेछ ।

आज बस्ने कांग्रेस पदाधिकारी बैठकले समितिको प्रतिवेदन बुझ्नेबाहेक महाधिवेशन कार्यतालिका संशोधन, केन्द्रीय समितिको बैठक आह्वान र सरकार विस्तारबारे छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर