ओली र नेपाललाई युद्धविराम गर्न रावलको सुझाव, फोर्सहरू एमाले सिध्याउने ‘अवैध सन्तान’ – Nepal Press

ओली र नेपाललाई युद्धविराम गर्न रावलको सुझाव, फोर्सहरू एमाले सिध्याउने ‘अवैध सन्तान’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई युद्धविराम गर्न सुझाव दिएका छन् ।

माधव नेपाल पक्षधर सांसद रावल पछिल्लो समय विश्वासको मतको बेला अन्य ९ जना नेतासँगै मतदानमा सहभागी भएका थिएनन् । यी नेताहरू अहिले एमाले विभाजन रोक्न सक्रिय छन् ।

रावलसहितका सांसदहरूले आइतबार वार्ता कार्यदलमा रहेका नेताहरूसँग १० बुँदेबारे छलफल गरेका थिए । रावलले नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक अर्का विरुद्ध उत्तेजक अभिव्यक्ति बन्द गरेर संवादमार्फत पार्टी एकजुट बनाउन अग्रसर हुनुपर्ने बताए ।

रावलले भने, ‘अहिले हाम्रा नेताहरूले युद्धविराम घोषणा गर्नु आवश्यक छ । नेताहरूमा आत्मप्रशंसामा रमाउने बानी छ । यस्तो बेला एकताको कुरा गर्नेहरू उहाँहरूलाई मन नपर्न सक्छन् तर १० बुँदे सहमति अनुसार एमालेलाई एकताबद्ध बनाउनुको विकल्प छैन ।’

कार्यकारी पदमा बसेकाहरूको आलोचना हुने भन्दै रावलले नेताहरूले आत्म प्रशंसामात्र चाहने हो भने कार्यकारी पदबाट बिदा भएर पार्टीको संरक्षकका रूपमा बस्नुपर्ने बताए । केपी ओली र माधव नेपाललाई बिदा गरेर भने पनि पार्टी एकताबद्ध बनाउनुपर्ने अभियान चलिरहेका बेला रावलले यस्तो बताएका हुन् ।

रावलले भने, ‘अहिले हिजो विभिन्न स्वार्थ बोकेर एमाले भएका र अवसर जता पाइन्छ त्यतै लाग्ने प्रतिगामीहरूले पनि नेताहरूलाई उक्साउँछन् । केही उग्र समर्थकहरूले पनि हौस्याउँछन् । अवसरवादीहरू पार्टी मिल्यो भने हिजो जताबाट आएका थिए पार्टी छाडेर उतै जान पनि सक्छन् । तर, कुनै स्वार्थ नभएका उग्र समर्थकलाई रुपान्तरण गरेर पार्टीको बलियो शक्ति बनाउन सकिन्छ ।’

रावलले एमालेको विधान र कुनै पनि निर्णयले नचिन्ने युथफोर्स, अखिल फोर्स, पिपुल्स भोलेन्टियरर्स जस्ता संस्थाहरू गुटका ‘अवैध सन्तान’ भएको भन्दै त्यस्तालाई एमालेले नचिन्ने बताए । दुवै पक्षले त्यस्ता अवैध सन्तानहरू पाल्न नहुने उनको भनाइ छ ।

रावलले भने, ‘एमालेको विधान र उद्देश्यले नचिन्ने आतंक फैलाउने संस्थाहरू घोषणा गर्ने, वातावरण विथोल्ने र भयभित बनाउने क्रियाकलाप रोकिनुपर्छ । यी फोर्सहरू भनेका एमालेभित्रका गुटका अवैध सन्तान हुन् ।’

विगतका गल्ती कमजोरी समीक्षा गर्ने समय अहिले नभएको र अहिले एमाले एकताबद्ध हुनुपर्ने भन्दै रावलले १० बुँदे सहमतिमा टेकेर नेता कार्यकर्ताहरूको आत्मसम्मानसहितको व्यवस्थापन हुनुपर्ने बताए । कार्यकर्ताको भयको सुरक्षाका लागि नेताहरूबीच उन्नत प्रकारको समझदारी हुनपर्ने उनको भनाइ छ ।’

केपी ओली र माधव नेपाल अरुको घरमा जान हुने आफूहरू एक-अर्काको घरमा बसेर खान किन नहुने भन्दै उनले अहिले केही अवसरवादी र अराजनीतिक व्यक्तिहरुले नेताहरुलाई उक्साइरहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर