‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान – Nepal Press

‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान

रुपन्देही । लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको सत्ता राजनीतिले पुनः चर्चामा पाएको छ । पाल्पाबाट समानुपातिक सांसद बनेकी जसपाकी नेतृ पुर्मती ढेंगामगर वेपत्ता भएको निवेदन सो पार्टीले प्रहरीमा दिएको छ ।

प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकोमा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा छन् । दुई साताअघि सरकारमा जसपाबाट सहभागी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएकी थिइन् ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर हराएको भन्दै प्रहरीमा निवेदन दिएको बताए ।

हिजो दिउसोदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ । प्रहरीलाई निवेदन दिइएको छ, हामीले पनि खोजबिन गरिरहेका छौं,’ पोखरेलले भने ।

उनले ढेंगाको घर तथा अन्य सम्पर्क रहने स्थानमा खोजिए पनि नभेटिएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । जसपाका प्रदेश अध्यक्ष अशोक यादवले ढेंगामरलाई खोज्न सबै ठाउँमा गए पनि नभेटेकाले सरकारप्रति आशंका बढेको बताए ।

जसपाले पुर्मतीलाई प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने नाममा अपहरण गरेको आरोप लगाए पनि आफुलाई यो विषयमा जानकारी नभएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । उनले भने, ‘हामीलाई किन यस्तो गर्नपर्यो, अनावश्यक हल्ला हुन्, बहुमत नभएपछि हामी सरकारको नेतृत्व गर्दैनौं भनेकै छौं ।’

यसअघि जसपाबाट प्रदेश सरकारमा सहभागी बनेकी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएपछि सरकारलाई बहुमत नभएको विपक्षी दलले बताउँदै आएका छन् । सांसद ढेंगाको मोबाइलमा धेरै पटक सम्पर्कको प्रयास गरिए पनि फोन उठेन ।

उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए ।

गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताए ।

जसपा प्रदेश समितिका एक नेताले सांसद ढेंगालाई ८० लाख रुपैयाँ दिने र मन्त्री बनाउन अपहरण गरिएको आरोप लगाए । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

असार ३१ गते प्रदेश सभाबाट वहुमतले बजेट पारित नहुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलसहित एमाले सांसदले प्रदेश सभा वैठक कहिस्कार गरेर हिंडेका थिए । र सोही राति सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कबिहीन भएपछि खोजविन जारी रहेको बताए । ‘हराएको सूचना आएपछि हाम्रो संयन्त्रबाट खोजविन जारी छ, तर पत्तो लाग्नसकेको छैन,’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर