फोहोरबाट बायोग्यास उत्पादन गर्ने तिलोत्तमा नगरपालिकाको योजना – Nepal Press

फोहोरबाट बायोग्यास उत्पादन गर्ने तिलोत्तमा नगरपालिकाको योजना

रुपन्देही । तिलोत्तमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरेर बायोग्यास उत्पादन गर्ने योजना अगाडि सारेको छ । बढ्दो शहरीकरणसँगै नगरपालिकाका विभिन्न क्षेत्रमा फोहरमैला संकलन हुने र त्यसको व्यस्थापनमा चुनौती आइरहेका बेला नगरपालिकाले फोहोर सदुपयोग योजना अगाडि ल्याएको हो ।

तिलोत्तमाले नेपालमै पहिलो पूर्ण सरसफाईउन्मूख नगरपालिका घोषणा भएको जनाएको छ । अहिले यहाँको फोहर तिनाउ नदी र सुखौरा खोलाको नदी उकास क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पीजीआरपी) शुरु गरेको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताएका छन् ।

यसको लागि घर, उद्योग, व्यवसाय तथा संघसंस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ ।

परियोजना अन्तर्गत बायोग्यासस तथा प्रांगारिक मल उत्पादन गर्ने तथा व्यवसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको श्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।

रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिने परियोजनामा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २ सय ६० जनाले प्रांगारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् ।

यस्तै नगरपालिकाभित्रका २ सय ६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ । आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

त्यस्तै परियोजना अन्तर्गत् यूएनडीपीले तिलोत्तमा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्‍याउने जनाइएको छ । परियोजनाले हरित पुनःस्थापनामा फोहोरमैला व्यवस्थापनको महत्व दर्शाउनुको साथै फोहोर व्यवस्थापनमा पनि प्रशस्त आर्थिक अवसरहरू सिर्जना हुनसक्छन् भन्ने उदाहरणको प्रस्तुत गर्ने नगर प्रमुख घिमिरेको भनाइ छ ।

ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नाराको साथ अगाडि बढिरहेको तिलोत्तमामा यस परियोजनाले अझ प्रभावकारी रुपमा फोहोर व्यवस्थापनको काम गर्ने उहाँको विश्वास छ ।

नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई परियोजनामार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पुर्‍याउने बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको फोहरमैला व्यवस्थापनको एकीकृत योजना बन्ने र ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको लक्ष्य हासिल गर्न टेवा पुग्ने बताएका छन् ।

अहिले तिलोत्तमा नगरपालिकाको फोहर दुई वटा संस्थाले दुई फरक स्थानमा व्यवस्थापन गर्दै आएका छन् । वडा नं १ देखि ६ सम्मको फोहर संकलन गरी तिनाउ नदी उकास क्षेत्रमा व्यवस्थापन गरिएको छ भने वडा नं ७ देखि १७ सम्मको फोहर सुखौरा खोलाको नदी उकास क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

वडा नम्बर ६ सम्मको सुन्दर नेपाल नामक संस्थाले व्यवस्थापन गरेको छ भने अन्य वडाको जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले व्यवस्थापन गरेको छ । सहकारीले फोहरको वर्गीकरण गरी कुहिने र नकुहिने छुट्टाएर व्यवस्थापन गर्दै आएका सहकारीका सदस्य खेमप्रसाद गौतमले बताए । उनले बायो ग्यास बनाउन ठूलो योजना र धेरै फोहर आवश्यक पर्ने भएकाले तत्काल संभव नभएकाले कम्पोष्ट मल बनाउन राम्रो हुने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *