अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक – Nepal Press

अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणासँगै नेपाली फुटबल समर्थक पंकजविक्रम नेम्बाङ विवादमा तानिएका छन् । नेपाली फुटबल समर्थहरु सामाजिक सञ्जालमा उनीमाथि खनिएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले आइतबार दिउँसो (केही बेरअघि) मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेका थिए ।

आफूले राजीनामा दिनुको कारण उपाध्यक्ष नेम्बाङ रहेको बताएसँगै समर्थक नेम्बाङमाथि खनिएका हुन् । नेम्बाङको व्यक्तिगत फेसबुक टाइमलाइनमा अपलोड गरिएका फोटोहरूमा अपशब्दसमेत प्रयोग गरेर नकारात्मक कमेन्ट आइरहेका छन् । उनले तुरुन्तै राजीनामा दिनुपर्ने माग पनि गरिएको छ ।

अल्मुताइरीले फेसबुकमा स्टाटस लेख्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले तीन सातादेखि गरिरहेको ‘नाटक’ का कारण राजीनामा दिन गइरहेको बताएका थिए । उनले भनेका छन्, ‘अब तपाईं खुशी हुनुभयो होला नि पंकजविक्रम नेम्वाङ ?’

को हुन् पंकजविक्रम ?
२०७५ वैशाख १२ गते शनिबार भएको एन्फाको १६औं साधारणसभाबाट कर्मा छिरिङको प्यानल निर्वाचित भएको थियो । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी भएका नेम्बाङ २०७६ साल वैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

पछिल्लो समय एन्फाको राजनीतिसँगै पंकज विक्रम अध्यक्षको कटु आलोचकका रूपमा देखा परेका छन् । कार्यसमिति बैठक बहिस्कार, नोट अफ डिसेन्ट लगायतका विषयका कारण चर्चामा आइरहने नेम्बाङलाई आगामी चुनावमा अध्यक्ष पदको प्रत्याशीका रूपमासमेत हेरिएको छ । तर, प्रशिक्षकको राजीनामापछि उनी विवादित बनेका छन् ।

यु-१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाइएको विषयमा पनि नेम्बाङको तिव्र आलोचना भएको थियो ।

२०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन गएको नेपाली यु -१६ टोलीको पहिलो रोजाइका गोलकिपर रोशन नेपाललाई टोली बाहिर राख्दै नेम्बाङका छोरा पथ्युहाङ नेम्बाङलाई जोर्डन पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *