माडीमा नेपालकै पहिलो ‘फार्म–स्टे’, गन्धर्व सँस्कृतिमा रमाउँदै किसानी सिक्ने थलो – Nepal Press

माडीमा नेपालकै पहिलो ‘फार्म–स्टे’, गन्धर्व सँस्कृतिमा रमाउँदै किसानी सिक्ने थलो

चितवन । कृषि फार्म घुम्न आउनेका लागि माडीमा घरबास (फार्मस्टे) तयार पारिएको छ । माडी–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारीमार्फत एक सय विघामा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (फार्मस्टे) बनाइएको हो । फार्म स्टे, गन्धर्व संग्राहलय तथा सांस्कृतिक केन्द्रको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेर समुदायलाई हस्तान्तरण गरेका हुन् ।

सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार ४६ वटा फार्म स्टेमा ९२ जना बस्न मिल्नेछ । ‘होमस्टेमा घरपरिवारको रहनसहन बढी अध्ययनको विषय बन्छ’, गायकले भने, ‘यहाँ किसान र कृषिका कुरा बढी चासोमा पर्छन्, त्यसैले फार्मस्टे भनेका हौँ ।’

यहाँको फार्ममा प्रतिघर ९ लाख रुपैयाँ बराबरको लगानी छ । जसमध्ये प्रदेश सरकारबाट प्रतिघर ३ लाख, माडी नगरपालिकाले डेढ लाख रुपैयाँ अनुदान दिएको थियो । ‘अहिले संरचना तयार भए, रंगरोगन गरियो’, उनी भन्छन्, ‘कोठा सजावट, बेड राख्ने, पंखा, बत्तीको काम बाँकी छ, असोजदेखि पर्यटक राख्नेछौँ ।’ कृषिलाई पर्यटनसँग जोड्ने गरी ‘फार्म स्टे’ बनाइएको हो ।

करिब ६५ लाख खर्चेर गन्धर्व संग्राहलय तथा सांस्कृतिक भवन पनि बनाइएको छ । गन्धर्व समुदायले लगाउने भेषभूसा, बाजा, औजार, संस्कृति झल्कने सामग्रीहरु राखिनेछ । यहाँ युवालाई सांस्कृतिक नाच तथा गीतबारे तालिम दिइने योजना रहेको उनले बताए ।

कान्तिपुर क्षेत्र गन्धर्व समुदायको बाहुल्यता भएको क्षेत्र हो । ३ वर्ष पहिले ४९ परिवार दलित, ३४ परिवार ब्राम्हण–क्षेत्री, ३ परिवार जनजाति समुदायका मिलेर सामूहिक खेती सुरु गरेका हुन् । माडी–ठोरी हुलाकी सडकअन्र्तगत खरकट्टा टावरचोकदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ सामूहिक खेती गरिएको छ । बैकुण्ठ सामुदायिक वनको फेदीमा रहेको कान्तिपुर विगतमा जंगली जनावर चरण गर्ने थलोका रुपमा चिनिन्थ्यो ।

यहाँ २०२१ सालतिर पर्वत, गोर्खा, बाग्लुङ, धादिङदेखि बसाइँ सरेर आएपछि बसोबास सुरु भएको थियो । सामूहिक खेतीमा ३ वर्षमा प्रदेश र स्थानीय सरकारबाट ४ करोड ७९ लाख बराबरको अनुदान लगानी भैसकेको छ । जसमध्ये १५ देखि ३० प्रतिशत स्थानीय जनसहभागितामा छ । खेतीका लागि ४४ प्रकारका यन्त्र–उपकरण छन् । खन्ने, जोत्ने, रोप्ने, छर्ने, काट्ने, थन्क्याउनेलगायतका काममा उपयोगी हुने सानाठूला सबै मेसिनहरु सामूहिक खेतीका लागि प्रयोग गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले सामूहिक खेती नयाँ अभ्यास भएकाले प्रर्वद्धन तथा प्रसारमा ‘फार्म स्टे’ले सघाउने बताउँछन् । ‘सामूहिक खेतीका आयाम नियाल्न आउने पर्यटक बढ्नेछन्’, उनले भने, ‘कृषि र पर्यटन उत्थानमा स्थानीय थप सक्रिय हुनेछन् ।’ सामूहिक खेतीमा धान, मकै, गहुँ खेती र माछापालन गरिँदै आएको छ ।

केही दिनमै टनेलमा तरकारी खेती गरिँदैछ । यस्तै यहाँ हरेक घरपरिवारले व्यक्तिगत रुपमा तरकारी खेती गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नमूना बस्तीका रुपमा कान्तिपुर क्षेत्र विकास भएको बताए ।

माडीका मेयर ठाकुरप्रसाद ढकालले कान्तिपुर बस्तीमा सडकलगायतका पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको खाँचो रहेको बताए । सामूहिक खेती थालेपछि कान्तिपुर बस्तीमा विद्युत् पुगेको छ, ग्राबेल सडक विस्तार भएको छ । प्राय सुनसान हुने बस्तीमा कृषि अध्ययन, अनुसन्धान तथा अवलोकनमा आउनेको चहलपहल बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *