वीपी-चीन आत्मियताका चार किस्सा – Nepal Press
३९औं वीपी स्मृति दिवस

वीपी-चीन आत्मियताका चार किस्सा

आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली महान साहित्यकार वीपी कोइरालाको ३९ औं स्मृति दिवश । २०३९ सावन ६ गते ६७ बर्षको उमेरमा क्यान्सरले वीपी कोइरालाको ज्यान गएको थियो ।

वीपी कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाइ मुलतः ‘प्रो–इन्डिया’ अर्थात भारतपरस्त र चीन विरोधीको आरोप लाग्छ । वीपीको भारत बास, भारतमै जन्मिएको नेपाली कांग्रेस, भारतको निकटता र भारतका विभिन्न समन्वयलाइ देखाएर यस्ता आरोप आउने गर्छन् । नेपालमा कम्युनिस्टले मात्रै हैन विभिन्न स्थापित विदेशी मिडियाहरुका सोलोडोलो धारणा पनि यहि छ । चिनियाँदेखि अमेरिकी मिडियासम्म यही धारणामा छन् ।

सोमबार (साउन ४ गते) चिनियाँ अखबार ग्लोबल टाइम्सले समेत देउवालाइ ‘भारतपरस्त’ भनेको छ । फुदान विश्वविद्यालयको अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक झाङ दियाजोङले एक लेख लेख्दै यस्तो आरोप लगाएका हुन् । भारतको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाले सहभागिता जनाएको र कांग्रेसको स्थापना भारतमै भएको भन्दै उनले यस्तो कुतर्क गरेका छनन् ।

आजभन्दा ६२ वर्ष अगाडि अमेरिकी परराष्ट्र मामिलाको म्यागाजिन फरेन अफेयर्सले त नेपाली कांग्रेसलाइ ‘भारतीय कांग्रेसको सन्तान’सम्म भनेको छ । तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रङले ‘ह्वेर इन्डिया फेसेस चाइना’ अर्थात जहाँ भारतले चीनको सामना गर्छ शीर्षकको आलेख सन् १९५९ को जुलाई महिनामा प्रकाशित भएको थियो । त्यसमै यसबारे चर्चा छ ।

फरेन अफेसर्यले ६२ बर्ष अगाडि लेखेकोदेखि ग्लोबल टाइम्सले ६२ घण्टा अगाडि भनेकै कुरा अहिलेसम्म थुप्रैले मान्दै आएका छन् । यही आरोपमा वीपीसमेत जोडिन्छन् । चीन र वीपीको सम्बन्ध भारत फ्याक्टरले गर्दा राम्रो नभएको धेरैको तर्क सुनिन्छ । जुन सर्वथा गलत हो । वीपी र चीनको सम्बन्ध राम्रो थियो । जसमध्येका चार किस्साको चर्चा गरिन्छः

१. भारतले बिरोध गरेको नेपाल–चीन कूटनीतिक सम्बन्धको समर्थन

सुन्दा अचम्म लाग्छ तर नेपालमा प्रजातन्त्र स्थापना भएको आधा दशकपछि मात्रै सन् १९५५ को अगस्ट १ (विसं २०१२ साउन १७)मा नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

यसलाई वीपीले स्वागत गरेका थिए । उक्त दिनको डायरीमा वीपीले लेखेका छन, ‘आज चीनसँग नेपालले सम्झौतामा हस्ताक्षर ग¥यो । यो चीनसँग दौत्य सम्बन्धको सुरुवात र नेपाली राजनीतिमा नयाँ पक्षको प्रवेश हो ।’

राजा महेन्द्रले मात्रिका प्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै कमान्डमा सत्ता लिएको समयमा वीपीको यो धारणा आएको हो ।

सम्झौताको तयारीका लागि चिनियाँ प्रतिनिधिमन्डल नेपाल आउने क्रममै भारत रुष्ट थियो । वीपी भने खुशी थिए । उनले २०१२ साउन १२ को डायरीमा लेखेका छन, ‘कूटनैनीतिक सम्बन्धको सुरुवातका लागि एउटा चिनियाँ प्रतिनिधिमन्डल राजधानी आइपुगेको थियो । वार्ताहरु अत्यन्तै गोप्य रुपमा सम्पन्न भए । यसबारे सल्लाह नगरेको भन्दै भारतिय पक्ष रुष्ट थियो । तर, मैले यी वार्ताहरुको स्वागत गरेको थिएँ ।’

विसं २००८ वैशाख २५ देखि २०१३ कात्र्तिक २७ सम्मका वीपीको डायरी काठमाडौंको शिखा बुक्सले गत बर्ष अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर प्रकाशनमा ल्याएको हो ।

२. उत्तरी सीमानाबाट भारतीय चेकपोस्ट हटाउन माग, भारतीय पत्रकारको केरकार

कुनै समयमा नेपालको चीनसँगको उत्तरी सीमानामा भारतीय सैन्य चोकपोस्ट थिए । भारतसँग धेरै झुक्ने राजा त्रिभुवनको ‘ग्रिन सिग्नल’ पाएर भारतीय सैन्य पोस्टहरु नेपालको उत्तरी सीमा नाकामा स्थापना भएका थिए ।

‘फरेन पोलिसी अफ नेपाल’ पुस्तकका लेखक एसडी मुनिका अनुसार सन १९५२ को फेबु्रअरी (विसं २०१२ को फागुन)ताका भारतीय सैनिकको टिम २० अफिसरसहित नेपाल आयो । मुनिले पछि त्यो बढेर १ सय ९७ अधिकारीसम्म पुगेको उल्लेख गरेका छन् ।

१९५२ फेब्रअरीमा आएको भारतीय चेकपोस्ट १८ बर्ष नेपालमा रहेर सन १९७० को अगस्टमा फिर्ता भएको थियो । ल्याउन त्रिभुवनले सत्तामा हुँदा सहयोग गरे । फिर्ता गर्न महेन्द्र कालमा प्रधानमन्त्री किर्तिनिधि बिस्टले नेतृत्व गरेका थिए । भारतीय पोस्ट नेपालमा ल्याउन दिइएको विषयमा वीपी बिरोधी थिए । उनले भारतीय चेकपोस्टको बिरोध गरेकैले उनी भारतका पत्रकार र अवबारको निशानामा परेका थिए । जसको बारेमा वीपीले आफ्नो डायरीले लेखेका छन ।

विसं २००८ चैत ५ गतेको डायरीमा वीपी लेख्छन, ‘भारतबाट सैन्य मिसन नेपाल आएको विषयलाई लिएर नेपाली सेनाभित्र ठूलो रुष्टता थियो । नेपाली सेना निकै संवेदनशील बनेको थियो,’ विसं २००९ चैत्र १७ को डायरीमा वीरगञ्जबाट वीपी लेख्छन, ‘गेराशल जाँदा र फर्कदा ठाँउठाँउमा मैले कांग्रेस कार्यकर्ता भेटेँ र उनीहरुलाई भारतीय जनसेवा अधिकारी तथा भारतीय सैन्य मिसन फिर्ता पठाउनुपर्नेबारे कार्यसमितिको निर्णय सुनाए ।’

विसं २०१० साउन २६ मा बिहारको राजधानी पटना पुगेका बेला भारतीय सैन्य पोस्टहरु हटाउने पक्षमा बोल्दा भारतीय पत्रकारहरुले वीपीलाई केरकार गरे । त्यहि दिनको डायरीमा वीपी लेख्छन, ‘पटनामा मैले केहि आक्रोशित पत्रकारहरुको पनि सामाना गर्नुपर्‍यो ।’

३. माओसँग हाकाहाकी सगरमाथा संवाद

सगरमाथा बारेमा रोचक कुरा के छ भने सन् १९५३ को मे २९ तारिकमा सगरमाथाको सफल आरोहण भएको थियो । नेपाल तर्फबाट गएको बेलायती आरोहण दलले सफलता पाएको दुई वर्षपछि मात्रै नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको हो ।

दौत्य सम्बन्ध स्थापनाको आधा दशकपछि मात्रै सन् १९६० को मार्च २१ मा सीमा समझदारी भयो । समझदारी गर्ने नेतृत्व लिएका थिए नेपालका प्रधानमन्त्री वीपी कोइरालाले । सीमा समझदारी हुने छलफलमा चीनका प्रधानमन्त्री चाओ एन्लाइले सबै सगरमाथा चीनतर्फ पर्छ भने । त्यसमा असहमत हुँदै माओसँग वीपीले आफ्ना कुरा राखे ।

माओ जेदुङको सन् १९९८ मा प्रकाशित पुस्तक ‘अन डिप्लोमेसी’मा वीपी र माओका संवाद राखिएको छ । जसमा सगरमाथा बारेमा गरिएको छलफल समेत राखिएको छ । वीपी र माओबीच सन् १९६९ मार्च १८ (विसं २०१६ चैत्र ५)को चीनमा भएको ‘सगरमाथा संवाद’ यस्तो छः

वीपीः त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाई सगरमाथा भन्छौं । तपाईंहरु झोमोलोङ्मा भन्नुहुन्छ । पश्चिमाहरु माउन्ट एभरेष्ट भन्छन् । यो क्षेत्र सधैं नेपालको भुभाग भित्र पर्छ । तर प्रधानमन्त्री चाउ एनलाइले यो चीनभित्र पर्छ भन्नु भयो ।

माओः यसमा तपाँइले असहज मान्नु हुँदैन ।

वीपीः यो भावनात्मक प्रश्न हो ।

माओः यसलाइ आधा आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणी भाग तपाँइको । उत्तरी भाग हाम्रो ।

वीपीः अनि चुचुरो चै के गर्नु?

माओः त्यो पनि आधा आधा । यसो गरे कसो हुन्छ? यदि यो समाधान गर्न सकिँदैन भने पछिको लागि सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सीमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाईंलाई दिए भावनात्मक रुपमा हामीलाई दुःख हुन्छ । यदि सबै हामीलाई दिए भावनात्मक रुपमा तपाईंहरुलाई दुःख हुन्छ । हामीले सीमा रेखा चुचुरोमा राख्न सक्छौं । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेस्ट त पश्चिमाहरुले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौँ । चोमोलोङ्मा पनि नभनौँ । यसलाई नेपाल चीन मैत्री हिमाल भनौं ।

वीपीः ठीकै छ ।

अन्नतः वीपी र माओकै संवादको लाइनमा नेपाल–चीन सीमामा सगरमाथाको टुंगो लाग्यो । सन् १९६१ अक्टोबर ५ (विसं २०१८ असोज १९) मा महेन्द्रको चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा सन्धीमा हस्ताक्षर भयो । सन्धीको धारा १ को उपधारा ११ मा सगरमाथाको चुचुरो हुँदै दक्षिणी भाग नेपालको र उत्तरी भाग चीनको भन्ने लेखिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले सन १९६५ मे ३० मा गरेको ‘नेपाल–चीन सीमा अध्ययन प्रतितिवेदन’मा पनि यहि कुरा उल्लेख छ ।

वीपी चीनको गुडबुकमै भएर माओको कितावमा उनको संवाद आयो । चीनविरोधी भएको भन्ने धारणा चीनको थियो भने सायद वीपी माओको महत्वपूर्ण दस्ताबेजहरु भएको पुस्तकमा अटाइँदैन थिए । माओको ‘अन डिप्लोमेसी’मा महेन्द्र र वीपी दुवै अटाएका छन् । अरु कुनै नेपाली राजा, प्रधानमन्त्री र नेताहरुको माओको पुस्तकमा उल्लेख छैन ।

४. चीनलाई संयुक्त रास्ट्रसंघ सदस्य बनाउन अन्तर्राष्ट्रिय पहल

विसं २०१६ जेठ १३ देखि विसं २०१७ पुष १ सम्म १८ महिना नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भए वीपी । उनको प्रधानमन्त्री कालमा भएका विभिन्न कुटनीतिक पहलहरुमध्ये चीनलाई संयुक्त रास्ट्रसंघको स्थायी सदस्य दिलाउन गरेको पहल पनि पनि एक हो ।

एकपटक मात्रै संयुक्त रास्ट्रसंघमा सम्वोधन गर्न पुगेका वीपीले चीनको उपस्थितिको माग गरेका थिए । सन् १९६० को नोभेम्बर १९ मा भएको १५ औं महासभामा बोल्दै वीपीले भनेका थिए, ‘संयुक्त रास्ट्रसंघमा जनवादी गणतन्त्र चीनलाइ उचित स्थान नदिएसम्म यो संस्था न विश्वव्यापी बन्न सक्छ न यसले विश्वभरको राजनीतिक वास्तबिकताहरुको प्रतिविम्बित गर्नसक्छ ।’

वीपी लगायतका विश्व नेताहरुले चीनको पक्षमा लबिङ गरेको ११ वर्षपछि सन् १९७१ अक्टोबर २५ मा जनवादी गणतन्त्र चीन संयुक्त रास्ट्रसंघको स्थायी सदस्य बन्ने औपचारिक बाटो खुल्यो ।

प्रतिक्रिया

One thought on “वीपी-चीन आत्मियताका चार किस्सा

Leave a Reply

Your email address will not be published. Required fields are marked *