श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो – Nepal Press

श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

एजेन्सी । दोस्रो खेलमा ३ विकेटको रोमान्चक विजयसँगै श्रीलंकाविरुद्धको तीन एकदिवशीय शृंखला भारतले जितेको छ । कोलम्बोमा गएराति सम्पन्न दोस्रो एकदिवशीयमा दीपक चहरले आठौं नम्बरमा ब्याटिङ गरी ६९ रनको अर्धशतकीय योगदान गरेपछि भारतले जित हासिल गरेको हो ।

२ सय ७६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभरमा ११६-५ को नाजुक स्थितिमा थियो । उसका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । अर्धशतक बनाएर खेलिरहेका सूर्यकुमार यादव पनि आउट हुँदा भारत २७ ओभरमा १६०-६ को स्थितिमा पुग्यो । क्रुनाल पण्ड्याले पनि ३५ रनमात्र बनाउन सके ।

तर आठौं विकेटका लागि दीपक चहर र तीब्र बलर भुवनेश्वर कुमारबीच ८२ रनको अविजित साझेदारी भयो र इनिङको ५ बल छँदै भारले खेल जित्यो र शृंखला जित निश्चित ग¥यो । चहरले ८२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अविजित संयमित पारी खेले । कुमारले उनलाई १९ रन बनाएर साथ दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए पनि अन्तिम ओभरतिर घरेलु बलर निप्रभावी देखिएका थिए ।

यसअघि टसजितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा मध्यम योगफल बनाएको हो । उसका ओपनर आभिस्का फर्नाण्डोले ५० तथा मध्यक्रमका चरिथ असलंकाले ६५ रनको अर्धशतकीय योगदान गरेका थिए । चामिका करुणारत्नेले पनि ४४ रन बनाए ।

बलिङमा भारतका भुवनेश्वर र युजवेन्द्र चहलले ३-३ विकेट लिए । चहरले बलिङबाट पनि २ विकेट लिएका थिए । उनी खेलकाे म्यान अफ द म्याचसमेत चुनिए ।

शृंखलाको पहिलो खेलमा भारत आइतबार ७ विकेटले विजयी भएको थियो । एक खेल अगावै एकदिवशीय शृंखला जितेको भारतले त्यसपछि तीन खेलको ट्वान्टी-२० शृंखला पनि खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर