प्रचण्ड निवासमा कारुणिक दृष्य : उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी ! (भिडियो) – Nepal Press

प्रचण्ड निवासमा कारुणिक दृष्य : उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी ! (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले निवासमै पुगेर भेटेको दृष्य हेर्दा उनको स्वास्थ्य निकै जिर्ण बनेको महसुस हुन्छ ।

‘उहाँ प्रधानमन्त्रीजी क्या, शेरबहादुजी !’ प्रचण्ड आफ्नी पत्नीलाई देउवासँग चिनाउन खोज्छन् ।

एक सहयोगीले सीतालाई अप्ठेरोसँग सहारा दिएर काखमा राखेकी थिइन् । खाटमा हजुरआमाकै छेउमा आफ्नै सुरले खेलिरहेका छन् नाति (प्रकाश र बिना मगरका पुत्र) प्रणव ।

मास्कलाई चिउँडोमा अड्याएका देउवा झुकेर नमस्कार गर्दै भन्छन्, ‘राम्रै छ ?’

तर, सीताको अवस्था राम्रो छैन । उनको शरीर सुकेर हाडछाला मात्रै बाँकी रहेको छ । मुखबाट प्रष्ट आवाज निस्किँदैन । नजिकका मानिसहरु पनि चिन्न मुस्किल पर्छ उनलाई ।

देउलालाई उनले असहज तरिकाले नमस्कार फर्काउँछिन् र अस्पष्ट आवाज निकाल्छिन् ।

‘चिन्यौं नि तिमीले ?’ पत्नीलाई हौस्याउन खोज्दै प्रचण्ड भन्छन् ।

देउवा भन्छन्, ‘म शेरबहादुर ।’

‘चिन्न त चिनेको जस्तो छ,’ प्रचण्ड फुस्फुसाउँछन् ।

‘आरजु पनि आउनुहुन्छ तिमीलाई भेट्न,’ प्रचण्डले अलि ठूलो स्वरले सीतालाई भन्छन् । सीताले केही प्रतिक्रिया जनाउँदिनन् ।

छोरी गंगाले थप्छिन्, ‘आउँछु भन्नुभाको छ ।’

स्तब्ध देखिएका देउवा खासै केही बोल्न सक्दैनन् । अनि, प्रचण्ड सोफाबाट उठ्दै भन्छन्, ‘यस्तो भेटघाटले उसको मनोबल अलि उठ्छ क्या । यसो छोइदिनुस् ।’

त्यसपछि देउवा अघि बढेर सीताको हात समाउँछन् र हौसला दिन्छन् ।

केही दिनअघि सीतालाई प्रचण्डका पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवले भेटेका थिए । उनलाई पनि सुरुमा नचिनेकी सीताले चिनेपछि भावुक बन्दै अंगालो हालेकी थिइन् ।

के भएको हो सीतालाई ?

स्वस्थ छँदा सीताको बेग्लै छवि थियो । उनी धेरै ठाउँमा प्रचण्डसँगै देखिने गर्थिन् । उनको शैली र स्वभावलाई लिएर आलोचना पनि हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा रोगले गालेपछि सीताको अवस्था दयनीय बनेको छ ।

पार्किन्सन्सजस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित छिन् सीता । यो एउटा दुर्लभ रोग हो, जुन एक लाख मानिसमा ५-६ जनालाई देखिन्छ । यो रोग लागेका बिरामीहरुलाई मस्तिष्कमा पनि समस्या देखिने गर्छ । यो रोगको पूर्ण उपचार सम्भव नहुने चिकित्सकहरु बताउँछन् ।

पत्नीको उपचारका लागि प्रचण्डले हरसम्भव कोशिष गरे पनि अपेक्षित सुधार आउन सकेन । सीताको शारीरिक अवस्था अहिले निकै कमजोर छ । उनी सहाराबिना उठबस गर्न सक्दिनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर