बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी – Nepal Press

बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी

काठमाडौं । नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् ।

थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए । यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् ।

उनको भनाइ यस्तो छ, ‘म जुलाइ ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ । मैले के समस्या भयो भनि सोध्दा इसीबीका कसैले पनि सही जवाफ दिएनन् ।’

सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् ।

उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

बेलायतमा गएर नियमानुसार सरकारकै व्यवस्थापनमा रहेको होटलमा क्वारेन्टाइन पनि बसिसकेपछि इसीबीले उनलाई खेल्न रोकेको हो । खेल्न रोकेको मात्र नभई बेलायत छोड्न समेत भनिएपछि सन्दिप आक्रोशित बनेका छन् ।

यसअघि उनले बेलायतमै आयोजना भएको टी-२० ब्लास्ट पनि भिसा समस्याका कारण गुमाएका थिए । ‘द हन्ड्रेड’ का लागि ओभल इन्भिन्सिबलमा सन्दिप ६० हजार पाउण्डमा आवद्ध भएका थिए । अब उनले चाँडै नेपाल फर्किनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर