बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन् – Nepal Press

बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्

ओडारको बास, गाँसको अभाव

कैलाली । चार वर्षको छोरा काखी च्यापेर सिमसिम पानीमा रुझ्दै एकोहोरो टोल्हाइरहेकी थिइन्, सरिताकुमारी बादी । छोरा केही खानका लागि रोइरहेको थियो, तर खानका लागि दिने केही नभएपछि सरिताको गह भरियो ।

चार वर्षअघि मुटुको अपरेशन गरेकी सरिताको जीवनमा कहिल्यै सुख आएन । रोगले थलिएकै बेला श्रीमानले साथ छाडे । त्यसपछि १० वर्षकी छोरीको सहारामा बाँचिन् ।

योबीचमा उनी रोजगारीका लागि भारत, दुवई र अरब गइन् । जहाँ उनले पैसा होइन, पीडा मात्रै पाइन् ।

अहिले उनका तीन छोरी र एक छोरा छन् । अहिलेसम्म उनीहरु कसैको नागरिकता बनेको छैन ।

१९ वर्षकी जेठी छोरी र १६ वर्षकी माइली छोरीलाई अरुले नै पढाइरहेका छन् । १४ वर्षकी अर्की छोरीले अहिलेसम्म विद्यालय देखेकी छैनन् । सरिता अहिले काखे छोरा बोकेर बाँच्न र छोराछोरी बँचाउनकै लागि संघर्ष गरिरहेकी छिन् ।

‘म बिरामी छु कति बेला के हुन्छ थाहा छैन’ वेदना पोख्दै उनले भनिन्,‘ हामी दुखिलाई त भगवानले पनि दुख मात्रै दिने रहेछ ।’

केही वर्ष पहिले श्रीमानले साथ छोडेपछि उनको परिवारमा थप आर्थिक संकट आएको छ । बिहान बेलुकी छाक टर्न पनि सकस हुन थालेपछि उनी माइतीमै बसिन् र पालिइन् ।

सरिताका श्रीमानको बुवाआमाको पनि अत्तोपत्तो छैन । उनले आमाको नामबाट नागरिकता बनाइन् ।

‘छोरा ठूलो हुँदै गयो । कसरी पाल्ने भन्ने चिन्ता छ । हामीलाई त सरकार भएको जस्तो पनि छैन’ उनले भनिन्, ‘एउटा सामान्य रोजगारी दिए हुन्थ्यो । गाँस, बास र कपासको व्यवस्था भए हुन्थ्यो ।’

डोटीकी सरिता बादीको जस्तै पीडा र समस्या दार्चुलाकी धना बादीको पनि छ । आफ्नो घर जग्गा नहुँदा उनको परिवार सडकमै बसिरहेका छन् ।

‘हामीलाई धेरै समस्या छ । दुई छाक पनि कसरी खाने भन्ने चिन्ता हुन्छ’ उनले भनिन् , ‘बस्ने ठाउँ पनि छैन । गर्ने काम पनि छैन । यसरी त भोकै मरिन्छ होला ।’

धनाका पनि ५ सन्तान छन् । उनीहरुले पनि अहिलेसम्म नागरिकता पाएका छैनन् । जेठी छोरीको उमेर २१ वर्ष भयो । उनको विवाह भइसकेको छ । तर, पनि नागरिकता नपाएको धनाले बताइन् ।

उनको साथमा अहिले १९ वर्षकी छोरी, १२ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । उनीहरूलाई जेनतेन पालिरहेको उनी बताउँछिन् ।

‘मजदुरी गर्न पाएको दिन एक किलो चामल किनेर खुवाउँछु । काम नपाएको दिन भोकै हुन्छौँ’ उनले भनिन् ‘हामी भोकै मर्ने अवस्था आउँदा पनि कसैलाई कुनै चासो छैन ।’

स्थायी बसोबास नहुँदा कहिले सडकमा, कहिले ओडारमा त कहिले अर्काको गोठमा बस्ने गरेको उनले पीडा पोखिन् ।

‘हामी रोडमा बस्ने गरेका थियौं । अहिले त्यहाँ पनि आरा मिल राखेका छन्’ पीडा पोख्दै उनले भनिन्, ‘गोठ खोज्छौँ, सफा गछौँ र त्यहीं बस्छौँ ।’

विगतदेखिनै निकै सास्ती बेहोर्दै आएका बादी समुदायमा कोरोना महामारीले थप सास्ती दिएको बादी अधिकार संघर्ष समितिकी अध्यक्ष मिठु बादीले बताइन् ।

‘कोही भारत गएका थिए, कोही विदेश थिए । उनीहरु नेपाल फर्किएका छन् । त्यसैले धेरै समस्या छ’ उनले भनिन्, ‘अहिले कोही ओडारमा छन् । कोही गोठमा बसेका छन् । उनीहरूलाई खान पनि समस्या छ ।’

‘बच्चाहरूलाई रोजगारी र दिदीबैनीलाई व्यवसाय दिनु पर्छ’ उनले भनिन्, ‘हामीलाई आफ्नो जमिन चाहियो । बस्ने ठाउँ भए पो हामी रोजगारी गरौँला ।’

२०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भएको थियो । तर, सरकारले पुनः स्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु यौन पेसा अंगाल्न उनीहरु बाध्य छन् ।

सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा बादी समुदायको बसोबास छ । करिब १० हजार बढी बादी समुदायका नागरिक यहाँ रहेको बताइएको छ ।

कैलालीको टिकापुर, लम्कि चुहाको बलचौर र बर्दगोरीयाको मुढामा उनीहरु बसिरहेका छन् ।

यहाँ केही परिवार अहिले पनि नागरिकताबिना बसिरहेका छन् । बुवाको पहिचान नहुँदा सन्तानहरू आमाले पालिरहेका छन् ।

केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका महिलाहरूले देहव्यापारको लागि लाइसेन्ससमेत मागेका थिए ।

बाध्यताले महिलाहरू लाइसेन्स माग्नसम्म पुगेको बादी समुदायकी अगुवा तथा प्रदेशसभा सदस्य उमा बादीले बताइन् ।

‘यौन शोषण गराउने सरकारको चाहाना हो भने लाइसेन्स देओस् भनेका हुन्,’ उनले भनिन्, ‘बादी समुदायका नागरिकको यो बाध्यता हो ।’

उनले भनिन्, ‘अहिले पनि यौन शोषण छ । यता कोरोनाको कहर छ अर्कोतिर पेटको आगो छ । बालबच्चा छन् । परिवार चलाउन पनि यौन पेसा अपनाउनुपर्ने बाध्यता अझै छ ।’

यही नियतिबाट कयौँ बादी महिला एचआईभी संक्रमित भए । कयौँ पाका उमेरका महिला पनि यौन शोषणमा परे । बाबुको पहिचान नभएका कयौँ बालबालिका अहिले पनि बाबु कुरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *