बैंकमा बढ्यो तरलता, २ खर्ब १० अर्ब निक्षेप संकलन हुँदा ७४ अर्बमात्रै लगानी – Nepal Press

बैंकमा बढ्यो तरलता, २ खर्ब १० अर्ब निक्षेप संकलन हुँदा ७४ अर्बमात्रै लगानी

काठमाडौं । आर्थिक बर्ष २०७७/७८ को समाप्तिसँगै बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता देखिएको छ ।

सरकारले वर्षको अन्तिममा आएर खर्च बढाएका कारणले बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा असार महिनामा मात्रै वाणिज्य बैंकहरूमा २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको देखाइएको छ । त्यस्तै असार मसान्तमा वाणिज्य बैंकहरूले ७४ अर्बमात्रै कर्जा लगानी गरेका छन् ।

असार मसान्तसम्ममा कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएको छ भने ३७ खर्ब ३१ अर्ब कर्जा लगानी भएको छ ।

जेठ महिनामा ८० प्रतिशतको हाराहारीमा रहेको सीसीडी अनुपात वर्षको अन्त्यमा घटेर ७६.१८ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ कारण बैंक तथा वित्तीयको कर्जा प्रवाह गर्न सक्ने क्षमता बढाउन सीसीडी अनुपात ८० प्रतिशत बाट बढाएर ८५ प्रतिशत पुर्‍याएको छ ।

औसतमा वाणिज्य बैंकहरूको सीसीडी अनुपात घटे पनि ८ वाणिज्य बैंकको सीसीडी अनुपात ८० प्रतिशतभन्दा बढी छ । सबैभन्दा धेरै सीसीडी अनुपात भएको बैंकहरूको सूचीको पहिलो नम्बरमा मेघा बैंक र दोस्रो नम्बरमा एनआईसी एसिया बैंक रहेको छ । मेघा बैंकको सीसीडी अनुपात ८२.०२ प्रतिशत र एनआईसी एसिया बैंकको ८१.१२ प्रतिशत रहेको छ । यसैगरी कुमारी बैंकको ८१.०१ प्रतिशत, सानिमा बैंक ८०.६ प्रतिशत, सिद्धार्थ बैंकको ८०.१५ प्रतिशत, सनराइज बैंकको ८०.४१ प्रतिशत, सिभिल बैंकको ८०.३८ प्रतिशत र माछापुच्छ्रे बैंकको ८०.०९ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंकको ७९.६८ प्रतिशत, नविल बैंकको ७९.३१ प्रतिशत, एनसीसी बैंकको ७९.५७ प्रतिशत, बैंक अफ काठमाडौंको ७७.७८ प्रतिशत, एभरेष्ट बैंकको ७२.६२ प्रतिशत रहेको छ ।

सबैभन्दा कम सीसीडी अनुपात हुने वाणिज्य बैंक नेपाल बंगलादेश बैंक हो । यस बैंकको उक्त अनुपात ६७.३७ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ६९.७४ प्रतिशत छ ।

सीसीडी अनुपात बढी भएका बैंकहरूले निक्षेप वा पुँजी वृद्धि नगरी धेरै कर्जा प्रवाह गर्न सक्ने अवस्था रहँदैन । थप कर्जा प्रवाह गर्न ती बैंकहरूले निक्षेप संकलन बढाउनुपर्ने दबाब रहन्छ । निक्षेप संकलन बढाउने होडमा यस्ता बैंकहरूको व्याजदर पनि बढाउने गर्दछन् । जसले गर्दा बैंकहरूको ‘कस्ट अफ फण्ड’ बढ्ने भएकाले कर्जातर्फको व्याजदर पनि बढ्ने संभावना देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर