सुरुङ युगमा नेपाल- वर्षमा दुईवटा सुरुङमार्ग सम्पन्न गर्ने दौडमा सडक विभाग – Nepal Press

सुरुङ युगमा नेपाल- वर्षमा दुईवटा सुरुङमार्ग सम्पन्न गर्ने दौडमा सडक विभाग

काठमाडौं । पहाडका टाकुरा एकैछिनमा सुरुङमार्गबाट छिचोल्दै चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला ? विदेशी भूमिमा सुरुङको विकास लामो समय अघिदेखि नै भए पनि नेपालमा भने भर्खरै यसको शुरुवात गरिँदैछ ।

ढिलै शुरुवात गरिएपनि तीव्र गतिमा सुरुङमार्ग निर्माण गर्ने दौडमा सडक विभाग लागेको छ । द्रूत गतिमा निर्माण हुँदै गरेको नेपालको पहिलो सुरुङमार्ग ‘नागढंगा सुरुङमार्ग’ ले पनि यसको प्रतिनिधित्व गरेको छ । यो सुरुङमार्गबाट नेपालीले यात्रा गर्नलाई धेरै कर्नु नपर्ने देखिन्छ ।

यसैगरी, वर्षमा दुईवटा सुरुङ निर्माण गर्ने योजनाका साथ अहिले सडक विभाग धमाधम यसको गृहकार्यमा जुटेको छ । सडक विभागका गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीका अनसुसार विभागले नेपालमा डेढ दर्जन सुरुङमार्ग निर्माणका लागि विभिन्न चरणमा कार्य गरिरहेको छ । ‘वर्षमा दुईवटा सुरुङ निर्माण गर्ने गरी काम अघि बढिरहेको छौं,’ उनी भन्छन् ।

सुरुङमार्ग निर्माण गर्न सडक जस्तो सजिलो नहुने उनी बताउँछन् । यो सडक निर्माणभन्दा खर्चिलो पनि हुन्छ तर, दीर्घकालीन रुपमा भने सडकभन्दा धेरै नै सस्तो पर्ने उनको भनाइ छ ।

यसमा सडक बनाउन जस्तो सुरुङ बनाउँदा वातावरण प्रभाव मूल्याकनका लागि ईआई गर्नु पर्ने छैन् । यसमा आईमात्र गरे पुग्छ । यसले पनि सडक निर्माणभन्दा सुरुङ निर्माण गर्दा योजना बनेपछि सम्पन्न हुन ढिलाइ हुँदैन् । साथै सुरुङ निर्माण गर्दा जमीनलाई चलाउनु पर्दैन । यसमा पहाडमा प्वाल बनाएर सुरुङ निर्माण गरिन्छ । सुरुङमार्गमा भुइचालोमा पनि डर नहुने निर्देशक जैशीको भनाइ छ । साथै, यसमा सडकको जस्तो मर्मत संभार गरिरहनु पर्दैन

देशैभर सुरुङमार्ग निर्माण हुँदै

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आफ्नो कार्याकालको उपलब्धी सुनाउने क्रममा भन्ने गरेको कुरा हो- अब देश सुरुङ युगमा प्रवेश गरेको छ । सुरुङमार्गमार्फत पूर्वाधार विकासले नेपाल समृद्धिको बाटोमा अघि बढेको छ ।

त्यसलाई पुष्टि गर्दै सडक विभागका निर्देशक जैशी भन्छन्- अब नेपाल सुरुङमार्ग निर्माणमा अघि बढिसकेको अवस्था छ । अहिले डेढ दर्जन सुरुङ निर्माणका लागि अध्ययन भइरहेका छन् । केही सुरुङमार्ग निर्माणका लागि प्रक्रिया नै अघि बढिसकेका छन् । केही त बनिरहेका पनि छन् ।

यस अघि सुरुङमार्ग निर्माणका लागि कानून नै थिएनन् । कानून नै नभएपछि सडक विभागले सुरुङ निर्माण गर्न नसकेको निर्देशक जैशीको भनाइ छ । तर, गत वर्षबाट सुरुङ निर्माणका लागि सम्पूण नीति नियम बनेको बताउँछन् उनी ।

नागढुंगा सुरुङमार्ग

देशको गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन नागढुंगा सुरुङको चर्चा जताततै सुनिन्छ । र, यो सुरुङ अन्य गौरवका आयोजना जस्तो सुस्त गतिमा निर्माण गरिँदैछैन् । अत्याधुनिक रुपमा निर्माण भइरहेको नागढुंगा सरुङमार्गमा समायवधिमा नै सक्नका लागि अहिले दिनरात नभनी ६ सयभन्दा बढी मजदूर तथा ५० भन्दा बढी देशी र बिदेशी इन्जिनियरले धमाधम दुई सिफ्टमा काम गरिरहेको बताउँछन् आयोजनाका निर्देशक नरेशमान शाक्य ।

उनका अनुसार अहिले नागढुंगा सुरुङ खन्ने काम २ सय ६८ मिटर पूरा भएको छ । जसमा मुख्य काठमाडौं तर्फको सुरुङ १ सय ४ मिटर खनिएको छ भने धादिङतर्फको मुख्य मार्ग १ सय ६४ मिटर खनिएको छ । यसैगरी, आपतकालीन टनेलतर्फ ५ सय १२ मिटर टनेल खनिएको छ । साथै एउटा टनेलबाट अर्को टनेलमा जानका लागि ३० मिटरको प्यासेज राखिएको छ जसमा अहिलेसम्म ९.५ मिटर खनिएको छ ।

आयोजनका निर्देशक शाक्यका अनुसार अहिलेसम्म सबै गरेर ९ सय १० मिटर खनिसकिएको छ । सुरुङको लम्बाई ५४ सय मिटर रहेको उनले जानकारी दिए ।

कोरोनाको दोस्रो लहरका कारण मजदुर कम भएपनि अहिले सम्पूर्ण मजदूर आइसकेको उनले बताए । कोरोनाकै कारण सुरुङ निर्माण कार्य ४ सय दिन पर धकेलिएको पनि उनले जानकारी दिए । तर, त्यस समयलाई पनि खिचेर द्रूत गतिमा सुरुङ निर्माण गरी समयमा नै आयोजना सक्ने उनको भनाइ छ ।

मुआब्जा समस्या

अहिले नागढुंगा सुरुङमार्ग निर्माणमा सबैभन्दा समस्या जग्गा मुआब्जा रहेको छ । बलम्बुमा रहेको जग्गाको मुआब्जा मूल्य निर्धारण हुन नसक्दा सुरुङमार्गको काममा बाधा परेको निर्देशक शाक्यको भनाइ छ । साथै बलम्बुमा नै रहेको पाँचवटा घर भत्काउनका लागि अहिले निर्माण आयोजक अख्तियारको निणर्य पर्खेर बसेको अवस्था छ । अख्तियारमा ती घर सरकारी की निजी जग्गामा बनेका हुन् भनेर उजुरी परेपपछि भत्काउन नसकिएको हो । मुआव्जाका लागि मात्र ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।

जापानिज कम्पनी हाज्माले बनाइरहेको यो सुरुङ निर्माणका २०७६ मा साढे १३ अर्ब रुपैयाँमा ठेक्का प्राप्त गरेका हो । यो आयोजना ४२ महिनामा सक्नु पर्नेछ । यसका लागि जापानी सहयोग नियोग (जाइका) ले सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

साथै, २०७३ सालमा करिब १६ अर्ब रुपैयाँ कर्जा उपलब्ध गराउने सम्बन्धमा अर्थमन्त्रालय र जाइकाबीच सम्झौता भएको थियो । जाइकाले नेपाललाई ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि कर्जा उपलब्ध गराएको हो । काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर सकिने छ । यो सुरुङमार्गबाट थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ ।

सिद्धबाबा सुरुङमार्ग

निर्देशक जैसीका अनुसार अर्को चर्चित सुरुङमार्ग हो सिद्धबाबा सुरुङमार्ग । यो सुरुङमार्ग यसकारणले पनि चर्चित छ कि यो सुरुङमार्ग हुँदै महाभारत क्षेत्रबाट गिट्टी-ढुंगा उत्खनन् गर्ने सरकारको योजना छ । निवर्तमान उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ हो, यो आयोजना ।

करिब आठ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने अनुमान गरिएको यो सुरुङमार्गको लम्बाई साढे दुई किलोमिटरको हुने बताइएको छ । यसमा सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ ।

तीन वर्षदेखि यो सुरुङमार्ग निर्माण गर्ने भनिए पनि यो वर्षमात्र यसको ठेक्का व्यवस्थापन सकेर ठेक्का प्रक्रियाका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । ठेक्का प्रक्रिया पूरा भएपछि दू्रत गतिमा यो सुरुङमार्ग तत्काल निर्माण गरिने छ । साथै सिद्धवावाबाट सधै सुख्खा पहिरो खस्ने भएकाले यसको रोकथमका लागि पनि यो सुरुङमार्ग निर्माण गर्न सजिलो हुन्छ ।

यो सुरुङमार्गका लागि स्विस सहयोग नियाग (एसडीसी) ले प्रारम्भिक डिजाइन तयार पारेको हो । सोही डिजाइनका आधारमा अहिले ठेक्काको लागि सूचना निकालिएको निर्देशक जैशीको भनाइ छ ।

फाष्ट ट्र्याकमा ३ सुरुङमार्ग

काठमाडौं तराई–मधेश दू््रतमार्ग (फाष्ट ट्रयाक) मा तीनवटा सुरुङमार्ग रहेका छन् । नेपाली सेनाले निमार्ण गरिरहेको यो द्रूतमार्गमा महादेवडाँडा ३.३५ किलोमिटर, धोन्द्रै १.३७ किलोमिटर र लेनडाँडा १.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् । ती सुरुङमार्ग निर्माण गर्नका लागि सेनाले ठेक्का पनि दिइसकेको छ । फाष्ट ट्राकमा पर्ने सुरुङमार्ग र त्यहाँ बनाइने पुल निर्माणका लागि ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको सेनाले बताएको छ ।

जडिबुटी-कोटेश्वर सुरुङमार्ग

भक्तपुर आउजाउ गर्ने मुख्य सडकका रुपमा रहेको कोटेश्वरको पट्यार लाग्दो सवारी जामलाई हटाउनका लागि यो सुरुङमार्गको परिकल्पना गरिएको हो । यो सुरुङमार्गका लागि सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ८० करोड रपैयाँ विनियोजन गरिएको छ । यो सुरुङमार्गका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरिररहेको छ ।

थप सुरुङमार्ग

धरान-धनकुटा सुरुङमार्गमा बन्ने तीनबटा सुरुङमार्गका लागि बोलपत्र आहन नै भएको छ । अपर तामाकोशीमार्गमा चीन जोड्नका लागि सुरुङमार्ग निमार्ण गरिने निर्देशक जैसी बताउँछन् ।

विपी राजमार्ग खुर्कोट–चियाबारी खण्डमा पनि सरुङमार्ग निर्माणका लागि भर्खरै अध्ययन सकिएको छ । काडमाढौंको टोखा-छहरे-गुर्जभंज्याङ, वेत्रावती-स्याफ्रबेशी सुरुङमार्गका लागि डीपीआर तयार गरिने भएको छ ।

कुलेखानी-भीमफेदी सुरुङमार्ग, पृथ्वीराजमार्गमा पर्ने मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्ने हेम्जा-नयाँपुल, पूर्वपश्चिम राजमार्गको दाउन्नेमा रहेको दुम्कस्वास-वर्दघाट, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते गर्ने बजेटमा नै उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर