साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक – Nepal Press

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

काठमाडौं । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पुर्‍याएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिकबापत नौ हजार ३८५ रुपैयाँ र महँगी भत्ताबापत पाँच हजार ६१५ रुपैयाँ गरी मासिक १५ हजार पाउने छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३६१ रुपैयाँ र महँगी भत्ता २१६ रुपैयाँ गरी प्रतिदिन  ५७७ रुपैयाँ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१ रुपैयाँ

यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक ११ हजार ५६१ रुपैयाँ रहेको थियो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर