सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा – Nepal Press

सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

काठमाडौं । देशमा हुने राजनीतिक उतारचढावको सिधा असर सेयर बजारमा पर्ने गर्छ । त्यही भएर सेयर लगानीकर्ताहरु देशको राजनीतिमा नजर राखिराख्छन् ।

हालैको सर्वोच्च अदालतको फैसला र त्यसपछि सरकार परिवर्तनले सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने ब्यापक चासो छ । प्रारम्भिक तीन दिनको रुझान हेर्दा नेप्से सकारात्मक दिशातर्फ उन्मुख छ, तर आगामी दिनहरुमा यसै होला भन्ने सकिने अवस्था छैन ।

गत आइतबार नेप्से कारोबार शुरु हुँदा केपी शर्मा ओलीको सरकार थियो र अर्थमन्त्रीमा थिए विष्णु पौडेल । तर कारोबारको अन्तिम दिन विहीबार आइपुग्दा शेरवहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आएका छन् । कम्युनिष्ट सरकारसँग आश्वस्त नभएका लगानीकर्ताले विष्णु पौडेललाई अर्थमन्त्री पाएपछि पत्याएका थिए । अहिले जनार्दन शर्मा अर्थमन्त्रीको पहिलो पदभार ग्रहण गर्दा शेयरबजार ‘पर्ख र हेर’ को स्थितिमा छ ।

गत जेठ ३१ गते नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेप्सेको इतिहासमा ३ हजार विन्दु पार गर्नसाथ धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीको सूची निकाल्यो । त्यसपछि ओरालो लागेको नेप्से गत आइतबार ७३ अंकले बढ्दै २९ सय विन्दुको छेउ पुग्दा अरबौ गुमाइसकेका लगानीकर्तामा केही आशाको दियो बल्न पुग्यो । सोही दिन कारोबार रकममा पनि धेरै दिनपछि दोब्बरको वृद्धि हुँदै ८ अर्ब पुगेको थियो ।

सोमबार देशको राजनीतिमा ट्वीस्ट ल्याउँदै सर्वोच्च अदालतको फैसलामार्फत काग्रेसका सभापति शेरवाहादुर देउबा प्रधानमन्त्री बने । त्यसले लगानीकर्ता हतोत्साही बन्दा बजारमा ४५ अंकको गिरावट आयो । तर, कारोबार रकम भने बढेर १० अर्ब पुग्यो ।

नयाँ सरकारमा अर्थमन्त्री पनि नेपाली कांग्रेसकै हुने सबैको आँकलन थियो । उद्योगपति विनोद चौधरीदेखि ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा आएको थियो । त्यही माहोलमा शेयरबजार १६ अंकले बढ्न पुग्यो ।

सबैको आँकलन विपरित माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आए । विगतमा उर्जामन्त्रीको पदमा रहँदा देशमा लोडसेडिङ अन्त्य गरेको जस पाएका नेता शर्मा बाट लगानीकर्तामा सकारात्मक प्रभाव देखिए पनि पूर्ण विश्वासको अवस्था छैन ।

बुधबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दैगर्दा शर्माले शेयर बजारमा उत्साह जनाउने का मगर्ने बताएका छन् । तर यी दुई दिनमा शेयर बजार भने धर्मराइरहेको अवस्था छ ।

नयाँ अर्थमन्त्री नियुक्त भएको दिन बुधबार झिनो एक अंकले बजार बढ्यो भने विहीबार ११.३३ अंकले बढ्दै २८८३.३८ विन्दुमा रोकिएको छ । विहीबार ५ करोड ८५ लाख २ हजार १०९ कित्ताको किनबेचमा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानीकर्ताले पत्याएका अर्थमन्त्री पौडेल गए पनि अब नेप्से केही समय बढ्ने लयमा रहेको बताउँछन् शेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार नयाँ अर्थमन्त्रीको कारणले नभइ बजार आफ्नै लयमा हिँडिरहेको छ । अब सेयर बजार ३५ सयको हाराहारीमा पुगे पनि पहिलाको जस्तो कुनै पनि कम्पनीको शेयर मूल्य अत्यधिक बढ्ने र घट्ने नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर