माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह – Nepal Press

माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह

काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्न गरिएको १० बुँदे सहमति कार्यान्वयनमा नजाने छाँटकाँट देखिएपछि माधव नेपाल पक्षका कार्यदल सदस्यहरू छलफलमा जुटेका छन् ।

२७ असार राति १० बुँदे सहमति जुटाउन कार्यदल सफल भए पनि भोलिपल्ट आएको सर्वोच्चको फैसलापछि एमालेभित्र उक्त सहमति भाँडिने अवस्था बनेको छ ।

यसबाट चिन्तित बनेका नेपाल पक्षका कार्यदल सदस्यले यसलाई जोगाउनुपर्ने भन्दै अग्रसरता लिएका हुन् । त्यसकै लागि उनीहरू बिहीबार राजधानीको एक होटेलमा बसेर सिंगो कार्यदलको बैठक बसाउन जोड गर्ने निष्कर्ष निकालेका छन् । छलफलमा कार्यदलमा नरहेका स्थायी कमिटी सदस्य भीम आचार्य पनि सहभागी थिए।

१० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफलमा बसेका उनीहरुले पार्टी एकताका लागि सहमतिको कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने र अबका निर्णय संस्थागत हिसाबले हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

छलफलकै बीच नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले ओली पक्षका संयोजक सुवास नेम्वाङलाई फोन गरेर चाँडो बैठक बस्न ताकेता गरेका थिए ।

‘हामी ६ जना बसेर सहमतिबारे छलफल गर्‍यौँ, समीक्षा गर्‍यौँ,’ नेपाल प्रेससँग उनले भने, ‘सिंगो कार्यदल बस्नुपर्छ भनेर अर्को पक्षका संयोजक सुवास नेम्वाङजीलाई मैले फोन गरेको छु । चाँडै बस्छौं ।’

दुवै पक्ष कहिले बस्ने भन्ने बारे भने केही टुंगो भएको छैन । सहमति कार्यान्वयनका लागि आश्यकता अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग पनि आफूले छलफल गर्ने रावलले बताए ।

सर्वोच्चको फैसापछि पदमुक्त भएर बुधबार आफ्नो निवास फर्किएका निर्वतमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले माधव नेपालले राजनीतिक अपराध गरेका भन्दै उनलाई पार्टीमा ठाँउ नरहेको उद्घोष गरेका छन् ।

ओलीको यस्तो घोषणाले सहमतिको भविष्य संकटमा परेको अनुमान गर्न थालिएको छ । ओली पक्षका धेरै नेताले सर्वोच्चको फैसलापछि १० बुँदेको औचित्य सकिएको बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर