देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’ – Nepal Press
टिप्पणी

देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’

अमेरिकी राष्ट्रपतिमा जो निर्वाचित भएर आए पनि पहिलोपटक इजरायली प्रधानमन्त्रीलाई शुरूआतमै फोन संवाद गर्ने प्रचलन हुन्छ । तर, सन् २०२१ को जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो बाइडेनले त्यो हतारो गरेनन् । उनले आफ्ना दुई छिमेकी क्यानडा, मेक्सिको हुँदै बेलायत, जर्मनी, फ्रान्स, जापान, रसिया र नाटो गठबन्धनका देशका राष्ट्र तथा सरकार प्रमुखसँग पहिले संवाद गरे ।

राष्ट्रपति भएको करिब १३ दिनपछि मात्रै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्याबिन नेतान्याहुलाई फोन गरेको इजरालयली अखबार हाअरेजले लेखेको छ । १३ दिनपछि बोल्न पनि इजरायलले धेरै पापड बेल्नु परेको थियो । इजरायलका लागि संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि डेनी डानोनले यो ढिलाइका विषयमा आपत्ति जनाएका थिए ।

बाइडेनले नेतान्याहुसँग फोन संवादलाई प्राथमिकता नदिनुमा मुलतः उनले नेतान्याहुको सरकारको विभाजित जनमत बारेमा गरेको कूटनीतिक ‘फेयर प्ले’ थियो । तत्काल संवाद गर्दा बाइडेनले नेतान्याहुलाई मानेको भनेर नेतान्याहु र उनको पार्टी समर्थकहरूले व्यापक विज्ञापन गर्थे । त्यसको राजनीतिक फाइदा उनीहरूलाई मिल्थ्यो । यो बाइडेनले बुझेका थिए र उनी त्यो दृष्यमा तत्काल देखिएन ।

अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्तिमा नेपालका दुई छिमेकी भारत र चीनले पनि कूटनीतिक ‘फेयर प्ले’ गरिरहेका छन् । अष्ट्रेलियन असोसिएट प्रेसले भनेजस्तै अदालतबाट भएको फैसला राजनैतिक दलहरूका बीच ‘विवादास्पद’ नै हो । ओली पक्ष फैसलामा नकारात्मक छ । सत्तारुढ गठबन्धन सकारात्मक । यस्तो बेलामा फ्रन्टलाइनमा आएर बधाई दिँदा शक्तिशाली छिमेकीहरूको साथ गठबन्धनलाई रहेको सन्देश जान्थ्यो । यो सन्देश जान नदिन भारत र चीन दुवैले देखिने गरी ढिलाइ गरिरहेका छन् ।

भारतले राजदूत विनयमोहन क्वात्रामार्फत मात्रै बधाई दिएको छ । तर, परम्परागतरूपमा सबैभन्दा शुरूमा वा प्रधानमन्त्री-मन्त्रीस्तरबाट आउने गरेको आएन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत पहिलो बधाई दिएका थिए ।

अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्तिमा नेपालका दुई छिमेकी भारत र चीनले पनि कूटनीतिक ‘फेयर प्ले’ गरिरहेका छन् । अष्ट्रेलियन असोसिएट प्रेसले भनेजस्तै अदालतबाट भएको फैसला राजनैतिक दलहरूका बीच ‘विवादास्पद’ नै हो । ओली पक्ष फैसलामा नकारात्मक छ । सत्तारुढ गठबन्धन सकारात्मक ।

सो सामाग्री तयार पार्दासम्म चीनबाट बधाई आएको छैन । आउन त आउला नै । तर, चीनले बधाईको हतारो नदेखाउनुले देउवा सरकारप्रति उसको मनस्थिति उत्साहजनक नरहेको आँकलन गर्न सकिन्छ ।

दुई शक्तिशाली छिमेकीको दुर्लभ ‘फेयर प्ले’

एसियाली शक्ति बन्ने क्रममा रहेको दक्षिण एसियाली महाशक्ति भारत र विश्व शक्ति बन्ने क्रममा रहेको एसियाली महाशक्ति चीनको बीचमा छ नेपाल । यी दुई देशबीच कुटनीतिक सन्तुलन कायम गर्ने विषय नेपालका लागि सँधै पेचिलो हुने गर्छ ।

नेपालमा भएका सबैजसो राजनीतिक घटनाक्रम र परिवर्तनमा आफ्नो हात रहेको देखाउन भारतले कहिल्यै कुनै कसर छाड्दैन । अहिले नेपालमा बनेको सत्तारुढ गठवन्धन पनि भारतका निम्ति अनुकूल रहेको विश्वास गरिन्छ । एमाओवादी अध्यक्ष प्रचण्ड यसअघि नै आफूहरूको सरकार भारका लागि कम्फर्टेबल हुने बताइसकेका छन् । ओली सरकार ढल्दा भारत निरास वा दु:खी हुनुपर्ने कारण पनि छैन ।

तर, पनि भारतले देउवालाई उच्चस्तरबाट बधाई दिएको छैन । न प्रधानमन्त्री मोदीले, न त विदेशमन्त्री एस जयशंकरले कुनै सन्देश पठाए । भारतले देउवालाई महत्व नदिएको हो वा महत्व नदिएको अभिनय गरेको हो भन्ने प्रश्न उठ्छ । देउवाको प्रधानमन्त्रीकाल ३० दिनमै टुंगिन सक्ने खतरा बुझेर पनि भारतले धेरै उत्साह नदेखाएको हुन सक्छ ।

२०७४ को चुनावबाट अत्यधिक बहुमत ल्याएका प्राइम मिनिस्टर-इन-वेटिङ ओलीलाई बधाई दिन भारतले धेरै हतारो गरेको थियो । ओली प्रधानमन्त्री नहुँदै तत्कालीन भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज २०७४ माघ १८ मा नेपाल आइन् । बहालवाला प्रधानमन्त्रीलाई लगभग ‘बाइपास’ जस्तो गर्दै नेपाल भ्रमणमा आएकी स्वराजले ओली जस्तै आफ्नो पनि स्वाथ्य समस्या भएकोजस्ता भावनात्मक कुरा गरेकी थिइन् । भारतीय प्रधानमन्त्री मोदीले वाम गठबन्धनबाट चुनाव जित्नासाथ २०७४ पुस ६ मा ओलीलाई बधाई दिएका थिए । यस्तै, प्रधानमन्त्री बन्ने पक्का भएपछि २०७४ माघ ७ मा पुनः बधाई दिएका थिए । त्यो लेभलको भावुकता र सक्रियता अहिले भारतले देखाएको छैन ।

अर्को चीनले पनि नयाँ सरकार निर्माण भएपछि खासै सक्रियता देखाएको छैन । गत वर्ष ओली प्रधानमन्त्री बन्दा चिनियाँ राजदूतले हतार-हतार भेटेर बधाई दिएकी थिइन् । यसपाली भने राजदूतको तर्फबाट कुनै पनि शुभकामना सन्देशसम्म जारी भएको छैन ।

चीन धेरै देखिने गरी कूटनीतिक सक्रियता पेस गर्दैन । तर, ओली प्रधामन्त्री भएको वामपन्थी सरकार बनेताका भने चीनको परम्परागत कूटनीतिबाट नयाँ डिपार्चर भएको थियो । राजदूत हु याङ्सी निक्कै सक्रिय भइन् । अहिले त्यो सक्रियता छैन ।

कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । भारतले अहिले अग्रपंक्तिमा नबोलेर आफ्नो कूटनीतिक ‘फेयर प्ले ‘गरेको छ । भारतअघि बसेर बोल्दा भारतको समर्थनले नयाँ सरकार बनेको भन्ने सन्देश मात्रै जाँदैनथ्यो, नेपालमा भएका भारतविरोधीहरूलाई आलोचनाको अर्को खुराक हुन्थ्यो । भारत र चीन दुवै मिलाएर लाने र दुवैको साथ छ भन्ने दावी गर्न र राजनीतिक सन्देश दिन देउवा र प्रचण्डलाई सुविधा हुन्थ्यो । अहिले यी केही भएनन् । भारतले देखिने तटस्थता कायम गर्‍यो ।

हुन त अहिले अलजजिरादेखि थुप्रै भारतीय मिडियाहरूले देउवा ‘भारतका मित्र’ वा ‘भारतनिकट’ भनेर व्याख्या गरेका छन् । त्यही व्याख्यालाई राजनीतिक र कूटनैतिक सन्देश भने उच्च स्तरबाट आएन । यसको प्रत्यक्ष फाइदा स्वयं भारतलाई छ । नेपाललाई पनि छ ।

दक्षिण एसियामा नेपाल, बंगलादेश, श्रीलंकादेखि माल्दिभ्ससम्म भारतको विकल्प र प्रतिस्पर्धी देखिने चीनले नयाँ सरकार निर्माणको कूटनैनिक सन्देशमा भने त्यस्तो प्रतिस्पर्धा गरेन । त्यसले पनि चीनलाइ नै फाइदा छ । किनभने चीन नेपालमा अनावश्यक प्रतिपर्धामा छैन भन्ने सन्देश जान्छ । नेपाललाई पनि फाइदा छ किनभने नेपालको कूटनीतिमा सधैँ भारत र चीनको प्रतिस्पर्धा हुन्न भने सन्देश हो यो ।

त्यस कारणले आजसम्म देखिएको सिनका आधारमा भन्न सकिन्छ । नयाँ नेपाली राजनीतिक घटनाहरूमा भारत र चीनले कुनै पक्षको स्पष्ट सहयोग गरेको देखाएनन् । यो एक खालको कूटनीतिक ‘फेयर प्ले’ नै हो ।


प्रतिक्रिया

One thought on “देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर