युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो) – Nepal Press

युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

आज अखिलको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

केपी ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै माधव पक्षको अखिल फोर्स गठन गरिएको हो ।

नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको पराजुलीले बताए । ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, पराजुलीले भने, ‘अब माधव नेपालहरू प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ , यदाकदा साइबर स्यालहरू हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारवाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

पराजुलीले माधव नेपाललाई कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारवाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर