ए डिभिजन लिगबारे मेरो प्रस्ताव – Nepal Press

ए डिभिजन लिगबारे मेरो प्रस्ताव

अमृत आचार्य । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि नेपाली फुटबल र समर्थकका लागि सुखद् खबर दियो । एन्फाको त्यो खबर कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४४औं संस्करण आगामी असोज ३ गतेबाट गर्ने भन्ने थियो ।

आगमी लिगमा गत सिजनका १३ र दोस्रो डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लब गरी १४ टोलीले प्रतिस्पर्धा हुने सम्भावना छ । एन्फाको तयारी अनुसार ४४औं संस्करणको लिग कम्तिमा ६ महिना लामो हुनेछ । आगामी लिगका लागि साउन १५ गतेबाट खेलाडी दर्ता हुनेछन्, र त्यसका लागि क्लबहरूले पनि विभिन्न खेलाडी भित्र्याउन र तयारी सुरु गर्न आक्रमक शैलीले अगाडि बढेका छन् ।

यसअघि ४३औं संस्करणको ’ए’ डिभिजन लिग २०७६ सालमा भएको थियो । त्यो संस्करणमा मच्छिन्द्र फुटबल क्लबले पहिलो पटक लिग जितेको थियो । तर, कोरोना महामारीका कारण ४४औं संस्करण दुई वर्षपछि हुन् लागेको हो ।

पछिल्लो समय यदि कुनै संघ खेलाडी र खेल केन्द्रित छ भने त्यो एन्फा हो, अन्य खेल संघको तुलनामा । तर, एन्फाको पनि कार्ययोजना पर्याप्त चाहिँ पक्कै छैन ।

एन्फासँग आगामी १० वर्षे  फुटबल  रणनीति छैन । आगामी दशकपछि नेपाली फुटबल कुन स्तरमा पुग्ने यकिन पनि छैन । राष्ट्रिय फुटबल टोलीको कुरा गर्ने हो भने १० वर्षपछिको नेपाली फुटबल कहाँ हुन्छ भनेर अनुमान लगाउनसमेत कठिन छ ।

एन्फा एकेडमीका युथ खेलाडीलाई एसियाली स्तरमा प्रतिस्पर्धा गर्ने सक्ने बनाउन एन्फाको चासो छैन । ती प्रशिक्षार्थी खेलाडीमध्ये २५ कम्तिमा खेलाडीलाई युरोप-एसियाका उत्कृष्ट फुटबल एकेडेमीमा प्रशिक्षणको व्यवस्था एन्फाले गर्न नसक्ने पक्कै होइन । अझै पनि त्यसका लागि पहल गर्ने हो भने त्यसले नेपाली फुटबलको स्तरवृद्धिमा पक्कै सहयोग पुर्‍याउँछ । खेलाडी उत्पादन र खेलाडीलाई तिखार्न लिग नियमित हुनुपर्छ ।

भर्खरै नेपाल को पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) सफलतापूर्वक सम्पन्न भयो । राम्रो ‘भिवरसिप’सहित एनएसएललाई नेपाली फुटबल समर्थकले पनि सकारात्मक प्रतिक्रिया दिए । त्यसको एक प्रमुख कारण रह्यो, विकेन्द्रिकृत क्लबहरू ।

नेपालका विभिन्न ठूला शहर र ६ प्रदेशलाई समेट्दै क्लब निर्माण गर्नु एनएसलले पाएको सकारात्मक फिडब्याकको आधार स्तम्भ रह्यो ।

विकेन्द्रिकृत टिम किन बनाउने ?

आधुनिक फुटबलको मेरुदण्ड नै लिग हो । लिगलाई प्रभावकारी बनाउनसके राष्ट्रिय टिम बलियो त हुन्छ नै, नेपाली क्लब फुटबल पनि व्यावसायिकतातर्फ अगाडि बढ्ने निश्चित छ ।

क्लब फुटबलको लागि सबैभन्दा ठूलो कुरा समर्थक हुन् । जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो हुन्छ ।

ए डिभिजन लिगमा सबैभन्दा ठूलो समस्या समर्थकको कमी हो । नेपाली लिग फुटबलमा पनि समर्थक छन् । तर, सोचे अनरुपमा नहुनको एक मात्रै कारण हो, काठमाडौं केन्द्रीत लिग ।

उपत्याकालाई नै समेटर निर्माण भएका क्लबले लिग खेल्छन् । तर, अर्को पाटो हेर्ने हो भने जुन समयमा क्लब निर्माण भए, त्यो समय काठमाडौं बाहिर फुटबल गतिविधि शून्य झैँ थिए ।

तर, अहिले समय परिवर्तन भएको छ । अब यीनै काठमाडौं बेस्ड क्लबहरूमा मात्र लिग सीमित गरिरहनु हुँदैन । उपत्यकाबाहिरका टोलीलाई पनि लिगमा उपस्थित गराएर ठूलो संख्यामा देशभर छरिएका समर्थकलाई ए डिभिजन लिगमा आकर्षित गर्नुपर्छ ।

क्लब सधैं चन्दाबाट चल्न सम्भव छैन, समर्थक र प्रायोजकलाई सक्रिय रूपमा फुटबलमा आकर्षित गरेर मात्रै क्लबलाई व्यावसायिक बनाउनसके मात्रै फुटबललाई व्यावसायिक बनाउन सम्भव हुन्छ । यसका लागि ए डिभिजन क्लबलाई काठमाडौं बाहिर लैजानु र त्यहाँका समर्थकलाई पनि फुटबलको स्ट्रेन्थका रूपमा प्रयोग गर्नेबारे एन्फा र क्लबले सोच्नु पर्ने समय आएको छ ।

क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन् । क्लबले समर्थक बढाउन तब मात्र सम्भब छ, जब ए डिभिजन लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन् ।

काठमाडौं बाहिर पोखरा, विराटनगर, झापा लगायतमा स्थानमा लिग खेलाउन योग्य मैदान छन् । यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर काठमाडौं बाहिर गर्नसके टिकटबाट पनि प्रशस्त आम्दानी गर्ने सकिन्छ । टिकट र प्रायोजन नै क्लबको प्रमुख आम्दानीको स्रोत बनाउनसके पनि फुटबललाई व्यावसायिक बनाउने नयाँ आधारस्तभ्म खडा हुनेछ ।

एन्फा, ए डिभिजन लिग कमिटी र क्लब प्रतिनिधिले बहस गर्ने र नेपाली लिगको प्रभावकारिताका लागि निर्णय लिने समय सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *