गृहमन्त्री खाँड भन्छन् : एआईजीपी सरुवा रोक्न निर्देशन भएको छैन – Nepal Press

गृहमन्त्री खाँड भन्छन् : एआईजीपी सरुवा रोक्न निर्देशन भएको छैन

गृह मन्त्रालय स्रोत र प्रहरी प्रधान कार्यालय स्रोतले पनि भन्यो : त्यस्तो कुनै निर्देशन भएको छैन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) सरुवा कार्यान्वयन नगर्नका लागि आफूले निर्देशन नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भइरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने त्यसको खण्डन गरेका हुन् ।

उनले नेपाल प्रेससँग भने, ‘त्यस्तो कुनै पनि निर्देशन र निर्णय भएको छैन । म भर्खरै मन्त्रालयसँग व्रिफिङ लिँदैछु । अहिले त्यस्तो केही भएको छैन ।’

गृह मन्त्रालयका उच्च अधिकारीले पनि त्यस्तो कुनै निर्णय नभएको बताए । उनले भने, ‘हामीलाई त्यस्तो खालको कुनै निर्देशन आएको छैन । मैले पनि सञ्चारमाध्यमबाट नै थाहा पाएको हो ।’

सरुवा भएको ५ दिन नबित्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको निर्णय रोक्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका छन् । मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका थिए भने गृहमन्त्रीमा बालकृष्ण खाँड नियुक्त भएका थिए ।

केही दिनअघि मात्र बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट सहकुलबहादुर थापालाई दरबन्दी सृजना गरेर एआईजीपीमा बढुवा गरेसँगै मानवश्रोत तथा प्रशासन महाशाखामा पदस्थापन गरेको थियो । उनको पदस्थापनसँगै एआईजीपी हरिबहादुर पाललाई ६ महिनामा नै कार्य विभागमा सरुवा भएको थियो ।

यस्तै निरजबहादुर शाहीलाई मानश्रोत तथा प्रशासन विभागबाट अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । कार्य तथा अनुसन्धान विभागबाट विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर