पुरानो कि नयाँ आर्सनल ? अर्टेटालाई झक्झक्याउने हाइबर्नियनविरुद्धको हार – Nepal Press

पुरानो कि नयाँ आर्सनल ? अर्टेटालाई झक्झक्याउने हाइबर्नियनविरुद्धको हार

काठमाडौं । युरो २०२० र कोपा अमेरिकाको समापनसँगै व्यावसायिक फुटबलको प्रि-सिजन सुरु भएको छ । प्रि-सिजन अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस टोली आर्सनल स्कटिस क्लब हाइबर्नियनसँग २-१ गोलको नतिजामा पराजित भयो ।

गोलका अवसरको सदुपयोग गर्न नसक्नु र रक्षापंक्तिमा भएका गल्तीले नयाँ सिजनको पूर्वसन्ध्यामा पनि पुरानै आर्सनलको झल्को दिन्थ्यो ।

प्रि-सिजनको पहिलो खेलमै अप्रत्याशित पराजय भोगेको आर्सनलले प्रभुत्व जमाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । यो हारले आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई थोरै पिरोल्ने छ । तर, उनले यो खेलबाट केही सकारात्मक पक्षसमेत पाएका छन् ।

विशेषगरी दोस्रो हाफमा उनले अलेक्जेन्डर लाकाजेटी, निकोलस पेपे र एमिल स्मिथ रोलाई मैदानमा उतारेपछि आर्सनलले नितन्तर आक्रमणका मौका सृजना गरेको थियो ।

तर, आर्सनलका प्रशिक्षकले प्रि-सिजनभित्रै टोलीमा पोजिटिभ मुमेन्टमका लागि केही सकारात्मक नतिजा निकाल्न कोसिस पक्कै गर्नुपर्नेछ । आगामी समयमा खेल जित्नका लागि विपक्षीको गोलपोस्टमा निर्दयी हुनु आवश्यक देखिन्छ ।

हिजोको खेलमा पर्याप्त मौका सिर्जना गरेको आर्सनलका एडी एन्केतियाले पहिलो हाफमा सुन्दर मौका खेर फालेका थिए । त्यस्तै, रेइस नेल्सनले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार फ्रेममा राख्न असफल भएका थिए ।

दोस्रो हाफमा थोमस पार्टे र पेपेले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यति मात्र नभएर पेपेले प्रहार गरेको पेनाल्टीमा समेत हाइबर्नियनका गोलकिपर केभिन डाब्रोस्की बाधक बनेका थिए ।

सेड्रिक सोएरेसले दिएको ब्याकपास मिस भएसँगै भर्खरै क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका युवा गोलकसपर आर्थर अकङ्क्वोका लागि बिर्सनलायक क्षण सिर्जना भयो । त्यसै पासमा हाइबर्नियनका मार्टिन बोएलले गोल गर्ने मौका पाएका थिए ।

त्यसपछि ६९‍औं मिनेटमा कमजोर मार्किङको फाइदा उठाउँदै ड्यानियल म्याक्केले हाइबर्नियनको अग्रता दोब्बर पारेका थिए । कमै मात्र मौका सिर्जना गर्न सफल घरेलु टोलीले दोस्रो हाफमा आर्सनलको चर्को दबाब सहेको थियो ।

स्मिथ रोले आर्सनलका लागि एक गोल फर्काए पनि अर्टेटाका लागि सान्तवनाबाहेक केही भएन । अर्टेटा शनिबार हुने स्टेफन जेरार्डको रेन्जर्सविरुद्धको खेलमा अझै प्रभावकारी प्रदर्शनको अपेक्षा गरिरेहेका छन् ।

शानदार प्रदर्शनसहित सुरुआत गरेको आर्सनलले पहिलो १० मिनेट भित्रै एन्केटियामार्फत् अग्रता लिने मौका गुमाएको थियो ।

त्यस्तै नेलसनले पनि दुई पटक सुन्दर मौका पाएका थिए । उनको पहिलो प्रहार सिएड कोलासिनाचलाई लागेर बाहिरिएको थियो । अर्को प्रहार भने आर्सनलका पूर्व गोलकिपर म्याट म्याकेले बाहिर धकेलिदिएका थिए ।

रोमाञ्चक खेलको २१औं मिनेटमा पहिलो गोल भएको थियो । र, त्यो गोल डोमिनेन्ट आर्सनलका लागि नभएर हाइबर्नियनका लागि बोएलले गरेका थिए ।

सोही गोलसँगै घरेलु टोलीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । घरेलु टोलीको अग्रता पहिलो हाफमै दोब्बर गर्ने प्रयास स्टेभन ब्राड्लेको प्रहार पोस्टमा लागेर फर्किएसँगै समाप्त भएको थियो ।

दोस्रो हाफमा अर्टेटाले गरेका सब्स्टिच्युसनसँगै भ्रमणकारी आर्सनलले निरन्तर आक्रामणका मौका सिर्जना गरेको थियो । दोस्रो हाफमा प्रभावकारी देखिएका पेपेले प्रहार गरेको एक फ्रि-किक क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो ।

निरन्तर आक्रमण गरे पनि दोस्रो गोल पुन: घरेलु टोलीले नै गरेको थियो । ६९औं मिनेटमा कर्नरमा अन-मार्क्ड रहेका म्याकेले गोललाइन नजिकैबाट हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो गोल खाए बित्तिकै आर्सनलले पेनाल्टीमार्फत एक गोल फर्काउने मौका पाएको थियो । तर, पेपेको प्रहारमा विपक्षी टोलीका गोलकिपर बाधक बने । यद्यपि, निर्धारित समयको खेलसकिन ८ मिनेट बाँकी रहँदा स्मिथ रोले हेक्टोर बेलेरिनको क्रसमा भलीमार्फत् एक गोल फर्काएका थिए ।

तर, अर्टेटाका लागि त्यो गोल सान्तवनामात्रै बन्यो । यो हारसँगै नयाँ सिजनको तयारीमा रहेको आर्सनल झक्झकिएको छ ।

गत सिजन आठौं स्थानमा सीमित भएको आर्सनलले आगामी सिजनको पहिलो खेलमा यसै सिजन बढुवा भएको ब्रेन्टफोर्डसँग अगस्ट १४ मा खेल्ने छ ।

Goal.com बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *