पार्टी मिल्न लागेकोप्रति कर्णालीका एमाले खुसी, आफ्नै नेतृत्वमा सरकार बन्ने आश – Nepal Press

पार्टी मिल्न लागेकोप्रति कर्णालीका एमाले खुसी, आफ्नै नेतृत्वमा सरकार बन्ने आश

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई साथ नदिने भएपछि कर्णालीका एमालेहरु खुशी भएका छन् । एमाले एक भए सरकारको नेतृत्व एमालेले गर्न पाउने आशसँगै उनीहरु खुसी भएका हुन् ।

प्रदेशसभा निर्वाचनमा ४० मध्ये २० सीट जितेको  एमालेले आन्तरिक कलहकै कारण सत्ताको नेतृत्व गर्न पाएको छैन ।

‘हामीलाई कर्णालीका नागरिकले पाँच वर्ष सरकार चलाउन म्याण्डेट दिए पनि विभिन्न कारणले पाएका छैनौं’, एमाले प्रदेशसभा सदस्य दल रावल भन्छन्, ‘एमाले एक भए हामी सरकारमा गएर घोषणापत्रका केही कार्यक्रम कार्यन्वयन गर्न सक्थ्यौं ।’

प्रदेशसभा सदस्य करवी शाही पनि शीर्ष नेताहरुबीच भइरहेको मेलमिलापले कर्णालीलाई उत्साहित बनाएको बताउँछन् । ‘हामी अहिले पनि प्रदेशसभामा बीस जना सांसद छौं । हामीलाई १८ जनाले शासन गरिरहेका छन् । एमाले एकता प्रक्रियाले हामीलाई उत्साही बनाएको छ ।’

फ्लोर क्रस गरेर भौतिक पूर्वाधार विकासमन्त्री भएका अम्मर थापा पनि एमाले मिल्न लागेकोमा खुशी भएको बताउँछन् । तर उनले कर्णालीमा आफूलाई राजनीतिक नभइ व्यक्तिगत रुपमा इगो साँधेर मुद्दा लगाइएको बताउँदै कर्णालीमा आफूले यामलाल कंडेलबाहेक जो मुख्यमन्त्री भएपनि स्वीकार्ने बताए ।

केन्द्रमा माधव नेपालले एमालेकै आधारमा चल्ने बताएपछि नेपालपक्षका मन्त्री एवम सांसदहरुले पनि अब एमालेको सरकार बनाउन खासै समस्या नहुने बताएका छन् ।

‘हामीले फ्लोर क्रस गरेको मन्त्री पदका लागि होइन, एमाले मिलाउनका लागि हो’ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही भन्छन्, ‘माथि सहमति भएको खबर आएको छ । यसले कर्णालीमा सकारात्मक वातावरण निर्माण गरेको छ ।’

मुख्यमन्त्रीका दावेदार संसदीय दलका नेता यामलाल कंडेलले भने अझै एक–दुई दिन यसै भन्न नसकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर