नेवानीलाई टेलिकमको मोडलमा लानमात्र तयारी गरिएको हो : महाप्रबन्धक पौडेल – Nepal Press

नेवानीलाई टेलिकमको मोडलमा लानमात्र तयारी गरिएको हो : महाप्रबन्धक पौडेल

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरण गर्ने नभइ नेपाल टेलिकमको मोडलमा लैजान खोजिएको बताएका छन् ।

सामाजिक संजालमार्फत पौडेलले कम्तीमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर सुनिश्चितता गरिने धारणा सार्वजनिक गरेका छन् ।

‘नेपाल वायुसेवा निगम निजीकरण गर्न कुनै हालतमा खोजिएको छैन। यसलाई सीधा हिसाबले बुझ्ने भाषामा नेपाल टेलिकमको मोडलमा लान मात्र तयारी गरिएको हो। कम्तीमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक शेयर रहन सुनिश्चितता गरिने छ । त्यसपछि कर्मचारी, प्रतिष्ठित विदेशी वायुसेवा लगानीकर्ता (रणनैतिक साझेदारको रूपमा) र सर्वसाधारणको सेयरको लागि बाटो खुल्ला गरिनेछ’, उनले भनेका छन् ।

पौडेलले निगम अहिलेको जस्तो आर्थिक र व्यवस्थापकीय जर्जरताबाट चल्न नसक्ने र चलाउन पनि नहुने भन्दै सरकारी संस्थानको रूपमा रहँदा सरकारको सहयोगभन्दा राजनीतिक हस्तक्षेप बढी हुनु स्वभाविक भएको बताएका छन् ।

‘अब सरकार एउटा बहुमत प्राप्त सेयर होल्डर र संरक्षकको रूपमा मात्र रहनु उपयुक्त हुन्छ । जनताको पैसाले निगम चलाउने प्रयत्न गर्नु हुँदैन’, उनले लेखेका छन् ।

‘निगमको सम्पत्ति तथा दायित्व मान्यताप्राप्त निकायबाट पुनर्मूल्यांकन गरी नेपाल सरकारको पुँजीको रूपमा नयाँ बन्ने कम्पनीमा लगानी गरिनु पर्छ । हवाई जहाज, मेसिन र उपकरणमा ह्रास भए पनि जग्गा जमीनको मूल्य बढ्ने हुनाले यस अधि गरिएका मूल्यांकनहरू यस प्रयोजनको लागि अमान्य हुने छन्’, पौडेलको भनाइ छ ‘यसरी मूल्यांकन गरिएको रकम ५१५ भन्दा कम भए सरकारले पैसा थपेर ५१५ पुर्‍याउनु पर्छ । यदी बढी भएमा पूरै रकम लगानी गर्दा जति प्रतिशत लगानी पुग्छ त्यही नै सदर गर्नुपर्छ ।’

‘असार मसान्तभित्र सरकारबाट लगानीप्राप्त गर्न प्रबन्ध पत्र नियमावलीको ड्राफ्ट बनाएको हो, निगमको कुनै संचालक समितिबाट पास गरिएको छैन । न त सरकारले यसमा कुनै निर्णय गरेको छ । धेरै छलफल हुन अझै बांकी छ’, निजीकरणको प्रस्तावबारे उनको थप प्रष्टोक्ति छ, ‘बुझेर बुझ पचाउनेसँग त केही लागेन नबुझेकाहरूलाई बुझाउन म सदा सर्वदा तयार छु । वार्ता र छलफलबाट निष्कर्ष निस्कन्छ थुनछेकबाट होइन भन्ने कुरामा म विश्वस्त छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर