‘दोषजति सबै प्रधानमन्त्रीको हो, राष्ट्रपतिलाई महाभियोग जरुरी छैन’ – Nepal Press

‘दोषजति सबै प्रधानमन्त्रीको हो, राष्ट्रपतिलाई महाभियोग जरुरी छैन’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक वृत्तमा सरगर्मी बढेको छ । सर्वोच्चको फैसलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री हुँदैछन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४० महिनापछि विपक्षी नेता बन्दैछन् ।

गत पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको पहिलो कदम गत फागुन ११ मा सर्वोच्चकै आदेशबाट बदर भएको थियो । त्यसयता प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगको चर्चा चलेको थियो ।

प्रतिनिधिसभा विघटनको दोस्रो कदमपछि सर्वोच्चले बदर गरेसँगै राष्ट्रपतिलाई महाभियोग लगाउने विषय बहसमा आएको छ । विपक्षी गठबन्धनमा रहेका केही नेताहरुले राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्ने बताउँदै आएका छन् । तर नेपाली कांग्रेस भने संस्थागत रुपमा राष्ट्रपतिविरुद्ध निर्णय लिने अवस्थामा छैन ।

दोष प्रधानमन्त्रीको हो, राष्ट्रपतिको होइन

विपक्षी गठबन्धन निर्माणदेखि नयाँ सरकार गठनसम्मको कसरतमा खटिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला कांग्रेसले महाभियोगबारे चर्चा समेत नगर्ने बताउँछन् । संवैधानिक हिसाबले राष्ट्रपति एक सेरेमोनियल संस्था रहेको भन्दै सिटौलाले राष्ट्रपतिविरुद्ध कांग्रेसले कुनै ‘एक्सन’ लिन जरुरी नभएको बताए ।

प्रतिनिधिसभा विघटनका दुवै कदमको दोषी प्रधानमन्त्री ओली रहेको र सर्वोच्च अदालतबाटै ओली ‘दण्डित’ भइसकेको सिटौलाको दावी छ । ‘लोकतन्त्र र कानूनी शासनमा प्रतिशोधको अर्थ छैन । संसदको दुवै विघटनमा दोषी प्रधानमन्त्री मात्रै हो । राष्ट्रपतिका कमजोरी होलान् तर त्यसलाई दण्डनीय मान्न सकिँदैन । त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग जरुरी छैन’, सिटौलाले नेपाल प्रेससँग भने ।

सर्वोच्चको आदेशलाई मुलुकलाई संविधानसम्मत हिडाउन मद्दत गरेको भन्दै सिटौलाले कांग्रेसको नेतृत्वमा मुलुक सन्तुलित ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘फराकिलो छाती गरेर कांग्रेस अगाडि बढ्नुपर्छ । विपक्षीको बेञ्चबाट ओलीजीको रचनात्मक भूमिका अपेक्षा गरेका छौं’, सिटौलाले भने ।

संकीर्ण दायराबाट मुलुक हाँक्न नसकिने भन्दै सिटौलाले सबैले संवैधानिक भूमिका अनुसार काम गरेर संविधान र लोकतन्त्र जोगाउनुपर्ने बताए । ‘अदालतले निर्णय दिइसकेपछि त्यसलाई स्वीकारेर जानुपर्छ । त्योभन्दा बाहिर गएर राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा उपयुक्त हुँदैन’, उनले भने ।

देउवाजी जोगिएर हिड्नुपर्छ

नेता सिटौलाले प्रधानमन्त्री बन्नभन्दा जिम्मेवारी पूरा गर्न गाह््रो हुने बताए । कांग्रेस नेतृत्वमा सरकार बन्दैमा सबैथोक प्राप्त भएजस्तो गर्न नहुने उनको सुझाव छ । ‘सरकारमा पुग्यौं भनेर धेरै मात्तिनु भएन । प्रधानमन्त्रीलाई खराब व्यापारी र ठेकेदारले घेरा हाल्ने चलन छ । देउवाजीले त्यो घेरा तोडेर जनताको दुःख निवारणका लागि काम गर्नुपर्छ’, सिटौलाले भने ।

कोभिडका कारण उत्पन्न विभिन्न समस्याबाट जनता आक्रान्त रहेकोले देउवा सरकारको प्राथमिकता कोभिडको कष्ट हटाउनेमा केन्द्रीत हुनुपर्ने सिटौलाको सुझाव छ । ‘प्रधानमन्त्री त उहाँ धेरैपटक भइसक्नुभएको छ । यसपटक परिस्थिति फरक छ । उहाँले जनताको दुःख र भोगाईसँग जोडिएर काम गर्नुपर्छ,’ उनले भने ।

पार्टीभित्र र बाहिरका सबैलाई समेटेर लैजाने परिपक्वता देउवाबाट अपेक्षा गरेको भन्दै सिटौलाले नयाँ सरकारको कामसंग कांग्रेस र लोकतन्त्रको भविष्य जोडिएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर