देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने गठबन्धनको निर्णय – Nepal Press

देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं । पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, भट्टराईले भने ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो । ‘प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, गठबन्धनमा रहेका दलहरुबीच थप समिक्षा गरेर जाने, सहकार्य अझ बलियो बनाउने निर्णय भएको छ’, बैठकपछि कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकपछि बाहिरिदै माओवादी केन्द्रका नेता देव गुरुङले पावर सेयरिङबारे छलफल सुरु भएको बताए । ‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ’, गुरुङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर