एमालेमा छलफल- सर्वोच्चको फैसला न्यायिक ‘कू’, दलीय प्रणालीमाथि हस्तक्षेप – Nepal Press

एमालेमा छलफल- सर्वोच्चको फैसला न्यायिक ‘कू’, दलीय प्रणालीमाथि हस्तक्षेप

काठमाडौं । सर्वोच्च अदालतको फैसलामाथि छलफल गर्न एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित योजना अनुसार नै साँझ ५ बजे बस्दैछ । तर, फैसलाको बारेमा बालुवाटारमा एमालेका नेताहरूबीच अनौपचारिक छलफल भने भएको छ ।

एमाले नेताहरूले रिट निवेदकले मागेका र न्यायाधीशलाई रिस उठेका कुरालाई समेत फैसलाका रूपमा संवैधानिक इजलासले लिपिवद्ध गरेको भन्दै यसले देशलाई गम्भीर दुर्भाग्यतर्फ धकेल्ने ठहर गरेका छन् ।

एमालेका एक नेताले भने, ‘यो राजनीति हो, अदालतको फैसला त हुँदै होइन । यसलाई हामीले देशको संविधान र संसदीय प्रणालीविरुद्ध गरिएको न्यायिक ‘कू’का रूपमा लिएका छौं । अदालतले गर्ने फैसला मान्नु पर्ने बाध्यता एक ठाउँमा होला तर दुर्भाग्यतर्फ ठेल्यो ।’

एमाले महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदको भएको भन्दै अदालतको फैसलाले यो अभ्यासमाथि प्रहार भएको बताएका छन् ।

महासचिव पोखरेलले अदालतको फैसलाबाट शक्ति पृथकीकरणमाथि प्रहार भएको र बहुदलीय व्यवस्थामाथि नै आक्रमण भएको बताएका छन् ।

पोखरेलले भनेका छन्-‘संसदभित्रका कारवाहीमा सांसदलाई सम्वन्धित राजनीतिक दलको ह्वीप नलाग्ने आदेश गरेको छ !! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरूद्धको वृहद जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो !!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर