‘हिल्सामा सीमा मिचिएको छैन, मुख्यमन्त्री किन आउनु भयो थाहा भएन’ – Nepal Press

‘हिल्सामा सीमा मिचिएको छैन, मुख्यमन्त्री किन आउनु भयो थाहा भएन’

सुर्खेत । कर्णालीको हिल्सा–लिमिलाप्चा क्षेत्रमा चीनले सीमा मिचेको भन्ने हल्लापछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद जीवनबहादुर शाही विवादित क्षेत्रको निरीक्षणमा गएको भनिएको छ । तर, विवादित क्षेत्र रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले भने मुख्यमन्त्री सीमा क्षेत्र अवलोकन गर्न गएको कुरा स्वीकार्दैनन् ।

उनका अनुसार उक्त क्षेत्रमा अहिले सीमा विवाद छैन । मुख्यमन्त्री र सांसद राजनीतिक भेटघाटका लागि आएको हुनसक्ने र उनीहरु हिल्सासम्म मात्रै पुगेको लामाले बताए ।

‘हिल्साको सीमास्तम्भ बजारमै छ’ उनी भन्छन्, ‘उहाँहरु बेलाबेलामा आउनु हुन्छ । गाउँपालिकासँग कुनै समन्वय भएको छैन ।’ सीमा विवाद भएको भनिएको ठाउँमा पनि मुख्यमन्त्रीको टोली नपुगेको उनको भनाइ छ ।

विवादित भएको ठाउँ लिमीलाप्चा हो । त्यहाँको सीमाबारे चाहिँ अध्ययन हुनुपर्नेमा उनले जोड दिए । गत साल लिमिलाप्चामा चीनले सीमा मिचेको खबर आएको थियो ।

सीमा मिचिएको भनिएकोबारे अध्यक्ष लामा भन्छन्– त्यहाँ पूरै फाँट छ । त्यहाँ यहीनेर हाम्रो सीमा भन्न गाह्रो छ । हाम्रो आँखाले हेर्दा १२ नम्बर पिल्लर लाप्चाको टुप्पोमा छ ।

त्यहाँको नक्साङ्कन सन् १९८३ मा भएको हो । त्योअनुसार सीमा मिचिएको देखिन्न । गत वर्ष सांसद जीवनबहादुर शाहीले सीमा मिचिएको भनेर प्रतिवेदन दिनुभएको भन्ने सुनियो । तर त्यतिबेला हामी पनि गएका थियौं । त्यस्तो ठोस प्रमाण भेटिएन ।

२ नम्बर र ११ नम्बर पिलरको दूरी ७६ किलोमिटर छ । त्यो बीचमा कुनै पनि सीमास्तम्भ खडा गरेको छैन । फाँटमा अलिकति बीच–बीचमा पनि सीमास्तम्भ हुनुपर्ने हो । त्यो हाम्रोमा समस्या देखियो । तर भएको सीमास्तम्भ नै हराएको भन्ने होइन । कतिपयले हेर्दै नहेरी र त्यो क्षेत्रमै नपुगी पिलर हराएको भनेर अनुमान गरेको पनि पाइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *