सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा दायर – Nepal Press

सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा दायर

काठमाडौं। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन सचिव द्रोणप्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भक्ता निकासा गरी हिनामिना गरेको पाइएकाले उनि विरुद्ध पाँच लाख ९३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगसहित मुद्धा दर्ता गरेको हो ।

यस्तै आयोगले साविक लहँ गाविसमा नै कार्यरत दीपक सुनारले सामाजिक सुरक्षा भत्ताको गलत कागजात तयार पारी सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा पनि मुद्दा दायर गरेको छ । आयोगले सुनारविरुद्ध चार लाख ४० हजार चार सय बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगको प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

यसैगरी आयोगले गोरखा बारपाक सुलिकोट गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसमेत चार जनाविरुद्ध पनि विशेष अदालतमा आइतबार नै मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप उनीहरुमाथि लागेको हो । स्थानीय भाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणक लागि लागत अनुमानअनुसारको काम नगरेको तथा ठेकेदारसँग मिलेमतो गरी रकम हिनामिना गरेको आयोगको ठहर छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गङ्गाबहादुर घले, इन्जिनीयर सुजन अँगाईविरुद्ध तीन लाख ६८ हजार चार सय २० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै ठेकेदार सोम उण्ड अमर कन्स्ट्रक्सनका अमरबहादुर गुरुङविरुद्ध पनि सोही बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रिसालले जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर