बाढीले चितवनमा दुई हजार विघा बढीको बालीमा क्षती – Nepal Press

बाढीले चितवनमा दुई हजार विघा बढीको बालीमा क्षती

चितवन । बाढी पहिरोका कारण चितवनको दुई हजार बढी विघामा लगाइएको कृषि बालीमा नोक्सान पुगेको छ । धान, मकै, केरा र तरकारी खेतीमा बाढीले असर पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यो वर्षको मनसुन सुरु भएपछि असार तेस्रो हप्तासम्म २३ सय विघामा कृषि बालीमा क्षती पुगेको प्रारम्भिक विवरण संकलन गरेको छ ।

कार्यालयका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत राजन ढकालले जिल्लाका सात वटै स्थानीय तहबाट विवरण संकलन गर्ने काम जारी रहेको बताए । ‘प्रारम्भिक भएकाले विवरण अझै थपिने क्रममै छ’, उनले भने, ‘इच्छाकामना गाउँपालिकाबाट क्षतीको विवरण आइपुगेको छैन ।’

यो गाउँपालिकामा पहिरोले धेरै खेती नष्ट भएको अनुमान छ । ढकालका अनुसार बाढीले सबैभन्दा धेरै धान खेतीमै असर पारेको छ । जिल्लामा करिब १ हजार ३ सय ८० विघामा लगाइएको धान खेतीमा बाढी पसेको छ ।

२० विघा क्षेत्रफलमा लगाइएको केरा बगान पनि बाढीले डुबाएको छ । असार १७ गते कयर खोलामा आएको बाढीले पूर्वीचितवनका किसान बढी प्रभावित बनेका थिए । कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार सबैभन्दा धेरै क्षती भरतपुर महानगरमै पुगेको छ ।

महानगरमा ८ सय विघा, कालिकामा ६ सय ३५ विघा, खैरहनीमा २ सय ९६ विघा, रत्ननगर, राप्ती, र माडी नगरपालिकामा दुई-दुई सय विघामा लगाइएको कृषि बालीमा क्षती पुगेको छ । बाढीले क्षती पुर्‍याएका ठाउँमा तत्कालै राहत तथा पुनःस्थापनाका लागि समन्वय भैरहेको उनले बताए । ‘वैकल्पिक खेती के हुनसक्छ भनेर अध्ययन गरेका छौँ, किसानले क्षती भोग्न नपरोस् भनेर लागेका छौँ’, उनले भने, ‘राहतका लागि जिल्ला विपत व्यवस्थापन समितिले निर्णय गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर