वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप (भिडियोसहित) – Nepal Press

वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप (भिडियोसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि वादी समुदायका दुई पक्षबीच कुटाकुट भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे विवाद भएपछि मिठू वादी र रामावादी समूहबीच आइतबार कुटाकुट भएको हो ।

रमावादी नेतृत्वको समूहले यसअघि आर्थिक हिनामिना गरेको मिठुवादी समूहले आरोप लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।

आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा वादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका थिए । त्यसपछि मिठुवादी समूहले पनि मुख्यमन्त्रीलाई भेट्न खोजेको तर भेट्न नपाएपछि मुख्यमन्त्री कार्यालयअघि विवाद भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि वादी समुदायका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘वास्तविक वादीका महिलाहरू हामी हौँ । उनीहरु त नेता हुन्’ मिठु वादी पक्षकी कमला वादीले भनिन्, ‘सरकारले हामीलाई ३ करोड रकम दिएको छ । त्यो खान नेताहरुले वादविवाद गरेका छन् ।’

सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ ।

महिलाहरूले हातपात गरेपछि सुभाष वादीलाई प्रहरीले नियन्त्रणमा छ ।

‘रमा बादीले हाम्रा दिदी बैनीलाई कमाइ खाने भाँडो बनाएकी रहिछन्’ भूमिहीन संघर्ष समितिका अध्यक्ष मिठु वादीले भनिन्, ‘हाम्रो बजेट यिनीहरूले खाए ।’

वसन्ती वादीले पनि आफूहरूलाई वादीका अगुवाहरूले ठग्ने गरेको बताइन् ।

‘वादीका नेता भन्नेहरूले हामीलाई ठगेका छन् । हाम्रो जग्गा छैन । आएको राहत पनि खान्छन्’, उनले भनिन्, ‘हाम्रो छोराछोरीले पढ्न पनि पाएका छैनन् । खान पनि पाएका छैनन् । यिनीहरूले हाम्रो बदनाम गरेर आफ्नो पेट भरिरहेका छन् ।’

प्रहरीले दुवै पक्षका वादी अगुवालाई मिलाउने प्रयास गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर