खातुनको उपचार खर्च प्रधानमन्त्रीपत्नीले उपलब्ध गराउने तयारी, अस्पताल भन्छ- हामीले शुल्क मिनाहा गरिसक्यौं – Nepal Press

खातुनको उपचार खर्च प्रधानमन्त्रीपत्नीले उपलब्ध गराउने तयारी, अस्पताल भन्छ- हामीले शुल्क मिनाहा गरिसक्यौं

जनकपुरधाम । जनकपुरधामस्थित आर्या केयर एण्ड क्यूर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी बेगम खातुनको उपचार खर्च प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले व्यहोर्ने भएकी छन् । उपचार खर्च जुटाउन नसकेर खातुन अस्पतालमा ‘बन्धक’ बनेको समाचार मिडियामा आएका थिए ।

क्षीरेश्वरनाथ नगपालिका ५ महेन्द्रनगरकी ३० वर्षीया खातुनलाई बेथा लागेपछि असार १७ मा अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा उनले जुम्ल्याहा बच्चा जन्माइन् । करिब एक साता अस्पतालमा बसिन् । अस्पतालको शुल्क करिब १ लाखभन्दा बढी उठेको थियो ।

अस्पताललाई तिर्नुपर्ने उपचार खर्च जोहो गर्न खातुनका श्रीमान मो. समिर नदाफ घर पुगे । उनले केही व्यक्तिसँग ऋण मागे पनि पाएनन् । पछि चन्दा उठाउन थाले । सोही क्रममा सञ्चारकर्मीसँग भेट भएपछि आफ्नो समस्या सुनाए । मिडियामा ‘उपचार खर्च तिर्न नसक्दा खातुन बन्धक’ भनेर समाचार आयो ।

सोही समाचार हेरेपछि प्रधानमन्त्री ओलीकी पत्नी शाक्यले खातुनको उपचार खर्च व्यहार्ने बताएकी हुन् । उनीनिकट स्रोतका अनुसार जनकपुरको प्रहरीसँग समन्वय गरेर आइतबार अस्पतालको खातामा पैसा पठाउने तयारी गरिएको छ । तर, अस्पताल भने यो विषयमा अनभिज्ञ रहेको बताउँछ ।

अस्पतालले खातुनलाई खातुनलाई डिस्चार्ज गराएर प्रहरीको जिम्मा लगाएको छ । सो अस्पतालको प्रशासन हेर्ने उज्ववल झाले खातुनको उपचार खर्च आफूहरुले नलिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘खजुरीको मैनाली थरका एकजना इन्सपेक्टरले आफ्नो जिम्मामा हिजै खातुनलाई लग्नुभयो । उहाँले पैसा हामी उपलब्ध गराउँछौं भन्नुभएको छ । तर हामी उपचार खर्च नलिने निष्कर्षमा पुगेका छौं ।’

‘मिडियामा उपचार खर्च तिर्न नसक्दा खातुनलाई चार दिनदेखि बन्धक बनाएको समाचार पढ्दा दुःख लागेको छ’, उनले भने, ‘मसँग कुनै मिडियाले सम्पर्क नै गरेका छैन ।’ अस्पतालले बन्धक बनाएको गलत कुरा लेखेर बदनाम गराउन खोजेको उनको गुनासो छ ।

उनका अनुसार खातुनको अप्रेशन गर्नुपरेको थियो । जुम्ल्याहा बच्चा जन्मिएपछि बच्चालाई एनआइसियूमा राख्नु पर्यो । एउटा बच्चाको ४१ हजार ३ सय र अर्को बच्चाको ४२ हजार रुपैयाँको बिल छ । अप्रेशन शुल्क २५ हजार छ ।

‘अप्रेशनको विषयमा खातुनको श्रीमानले केही भन्नुभएन’, उनले भने, ‘बच्चाको ८३ हजार ३ सयमा केही छुट गर्न भन्नुभएको थियो, खातुनको श्रीमान समिरले । गरिब भएकाले तिर्न नसक्ने भनेपछि हामीले ठिक छ ६० हजार मात्र तिरिदिनुस् भनेका थियौं । त्यसपछि उहाँले ५५ हजार तिर्ने कुरा गर्नुभयो ।’

पैसा लिन घर गएका समिर नफर्किएको तर अस्पतालले बन्धक बनाएको समाचार आएपछि आश्चर्य लागेको उनले बताए ।

श्रीमान समिर पनि अस्पतालले श्रीमतीलाई बन्धक बनाएको कुरामा सत्यता नभएको बताउँछन् । उनले भने, ‘म गरिब छु । तर झुठो बोल्दिनँ । अस्पतालले बन्धक बनाएको कुरा मैले कसैलाई भनेको छैन । गरिब छु भनेपछि अस्पतालले मात्र ५५ हजार तिर्न भनेको थियो । म ओके भएर रकम खोज्न घर आएँ । त्यो रकम पनि जुटाउन सकिन्नँ । तर हिजो अस्पतालले श्रीमतीलाई डिस्चार्ज गरेपछि घर आएकी छन् ।’

मजदुरको काम गर्ने समिर श्रीमती कसरी अस्पतालबाट डिस्चार्ज भएको विषयमा पनि अनभिज्ञ छन् । उनले प्रधानमन्त्री ओलीकी पत्नीले उपचार खर्च व्यहोर्ने कुरा पनि थाहा नपाएको बताए । उनले भने, ‘उपचार खर्च तिर्नुपर्छ वा पर्दैन कसैले भनेकै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर