एमाले वार्ता टोलीको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित – Nepal Press

एमाले वार्ता टोलीको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित

काठमाडौं । एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन अचानक स्थगित भएको छ ।

अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा पार्टीको निर्देशनपछि स्थगित भएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिबारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।

कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो । युवासंघको मार्चपास अब आइतबार हुने बस्नेतले बताए ।

माधव पक्षधर विद्यार्थीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने लगायत सडक प्रदर्शन गरिरहेकाले ती गतिविधिसमेत रोक्न सुरेन्द्र पाण्डेले माधव नेपाललाई आग्रह गरेका थिए । तर, नेपाल पक्षले भने कार्यदलको आग्रह अश्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर