अन्तरजातीय बिहे गर्ने दलित युवकको वेदना : २१ दिन जंगलमा लुक्यौँ, घर फर्केपछि कुटेर छुट्याए – Nepal Press

अन्तरजातीय बिहे गर्ने दलित युवकको वेदना : २१ दिन जंगलमा लुक्यौँ, घर फर्केपछि कुटेर छुट्याए

कैलाली । अन्तरजातीय विवाहपछि परिवारसँग भागेर २१ दिनदेखि जंगलमा लुकेका एक जोडी घर फर्किएसँगै युवतीका आफन्तले युवकमाथि कुटपिट गरेका छन् । सँगै उनीहरूको जोडीलाई छुटाएर युवती भने परिवारले लिएर गएका छन् ।

भजनी नगरपालिका-७ मा प्रकाश विश्वकर्मा र मालती रावलले प्रेम विवाह गरेका थिए । उनीहरूले यसअघि गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै आफूहरू लुकेर बसेको र सहयोग गर्न अपिलसहित जंगलबाटै भिडियो सार्वजनिक गरेका थिए ।

‘बुबा बिरामी हुनुहुन्थ्यो । उनीहरू घरमा आएर धम्की दिने रहेछन्’ युवकले भने, ‘सबैसँग छलफलपछि हामी हिजो कैलाली आएका हौँ । ’ छलफल गर्ने भन्दै बोलाएर आफूलाई एक्कासी कुटपिट गरेको प्रकाशले बताए । आफूलाई अपरिचित व्यक्तिहरूले कुटेको उनको भनाइ छ ।

‘१८/१९ वटा गाडी आएको थियो । कुरै गर्न पाइन । उसलाई पनि पिट्दै गाडीमा लगे । जुत्ता पनि मेरो घरमा छ’ उनले भने ‘कुटपिट गर्नेहरूलाई मैले चिन्न सकिन ।’

‘कुरा गर्ने भनेर बोलाएका थिए । कुरा हुनै पाएन । एक्कासी कुटपिट गरे । उनलाई पनि लिएर गए । म मरेको भए भाइरल बनाउनु हुन्थ्यो । अहिलेसम्म जिउँदो छु । कसैले चासो दिएन ।’

किशोरीले प्रेम विवाहबारे घरमा जानकारी गराएको भन्दै प्रकाशले भने, ‘मेरो घरमा थाहा थिएन । उसले मसँग गएको कुरा आफ्नो घरमा भनेकी थिइन् हामीलाई छलफल गर्ने भनेर बोलाएर छुट्टाए ।’

युवक अहिले इलाका प्रहरी कार्यालय भजनीमा छन् । युवकले युवतीमा असुरक्षा बढेको बताएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । तर केटी पक्ष सम्पर्कमा नरहेको उनले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर