स्थायी राजधानी बनेको १० महिनापछि लुम्बिनी प्रदेशको एउटा मन्त्रालय दाङ सारियो – Nepal Press

स्थायी राजधानी बनेको १० महिनापछि लुम्बिनी प्रदेशको एउटा मन्त्रालय दाङ सारियो

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय स्थापना गरिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा शहरी विकास मन्त्रालयको काम सुरु गरिएको हो ।

गत असोज २० गते प्रदेशसभाको छैठौं अधिवेशनले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका तोकेको थियो ।

ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट कामकाज शुरु गरेर स्थायी राजधानी कार्यान्वयनको शुरुवात गरेको छ । दुई महिना दिनअघि यो मन्त्रालयमा नियुक्त भएका मन्त्री हरिप्रसाद रिजालले मौरीघाटमा स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ग्रामीण तथा शहरी विकास मन्त्रालयअन्तर्गत रहेका महाशाखा, विभिन्न अन्य शाखाको कार्यालय मन्त्रालयमै स्थापना गरिने छ ।

अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी लैजानका लागि आवश्यक भौतिक पूर्वाधार तयारीमा लागेपनि अस्थायी संरचनामा गएर पुनः खर्च नगर्न धेरैको दवाव रहेकाले पनि राजधानी सार्न ढिलाई भएको हो ।

लुम्बिनी प्रदेश सरकारले राजधानी शहरको गुरुयोजना निर्माण सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम शुरु गर्नेगरी बजेट तर्जुमा गरेको मन्त्री रिजालले जानकारी दिएका छन् ।

राजधानी क्षेत्रको गुरुयोजना कन्सल्टेन्टमार्फत भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धु्रव मजगैयाँले जानकारी दिए । अबको १० दिन मन्त्रालयभित्र कार्यालय व्यवस्थापनको काम हुनेछ । त्यसपश्चात् प्रशासनिक काम शुरु गरिनेछ । यो मन्त्रालयसँगै आन्तरिक मामिला तथा कानून, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसमेत स्थानान्तरण गरिने छ ।

राजधानी व्यवस्थापन कार्यालयले मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय सञ्चालन भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालय स्थापना गर्न सकिने गरी सिफारिस गरिसकिएको छ ।
शिक्षालयलाई गढवास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्न बाँकी छ । शिक्षालय स्थानान्तरण भयो भने अन्य मन्त्रालयको व्यवस्थापन सहजरुपमा हुनेछ । लुम्बिनी प्रदेशसभाको बैठक सञ्चालनका लागि प्रदेशसभा भवन निर्माण कार्य जारी छ ।

लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने योजनाअन्तर्गत पूर्वाधार निर्माणको काम आउँदो आर्थिक वर्ष २०७८÷०७९ बाट शुरु गरिने भएको छ ।

राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेश सभा र केही निर्देशनालय राखिने छ । जस अन्तरगत शिक्षालयलाइ गढवा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा सारिने छ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भैरहेको हो ।

हिउँदे अधिवेशन स्थायी राजधानीमै गर्ने मुख्यमन्त्रीको चाहना

मुख्यमन्त्री शंकर पोखरेलको चाहनामा स्थायी राजधानीमा लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी तयारी भएको छ । पहिलो मन्त्रालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानीमै गर्ने आफ्नो चाहना रहेको बताएका थिए ।

राप्ती प्राविधिक शिक्षालय परिसरमा पाँच करोडभन्दा बढीको लागतमा शिक्षालय प्रदेश सभाका लागि अस्थायी सभा भवन बनिरहेको छ ।

आर्थिक मामला तथा योजनामन्त्री वैजनाथ चौधरीले संरचनाको काम नसकिँदै एउटा मन्त्रालय भए पनि आउनु राजधानी कार्यान्वयनको जिम्मेवारी छिट्टै पूरा गर्नु भएको बताए । ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले मन्त्रालयले स्थायी राजधानीबाट काम शुरु गर्नु ऐतिहासिक भएको बताए । उनले मुख्यमन्त्रीको चाहना बमोजिम अगाडि बढेको जानकारी दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *