हाकिमलाई ‘…चोर देश छोड’ भन्दै कर्मचारीको अभद्र नारावाजी, बिजुली र नेट पनि काटिदिए (भिडियो) – Nepal Press
नेवानीमा अराजकता

हाकिमलाई ‘…चोर देश छोड’ भन्दै कर्मचारीको अभद्र नारावाजी, बिजुली र नेट पनि काटिदिए (भिडियो)

कर्मचारीको आँखा छलेर यसरी निस्किए महाप्रबन्धक

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीको आन्दोलन अराजक बन्न थालेको छ । महाप्रबन्धकलाई अभद्र गाली गर्दै कर्मचारीले आज नारावाजी गरेका छन् ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल ६ दिनपछि बिहीबार कार्यालय आएका थिए । उनी आउनासाथ कर्मचारीले कार्यालय घेराउ गरे । एक ट्रक प्रहरीका सुरक्षामा आएका महाप्रबन्धकलाई कर्मचारीले भेट्टाउन सकेनन् । त्यसपछि उनका विरुद्धमा कर्मचारीले नारावाजी सुरू गरे ।

आन्दोलित कर्मचारी पौडेलको कार्यालयमा पसेर धरपकड गर्ने प्रयासमा थिए । तर, प्रहरीले उनीहरूलाई रोक्यो । त्यसपछि कर्मचारी एक ढिक्का बनेर कार्यालयको ढोकाअघि नारावाजी गरिरहे । कर्मचारीले ‘डिमे चोर, देश छोड’ भन्दै अभद्र नारा लगाएका थिए ।

यति मात्र होइन, करिव २ घण्टा कार्यालयमा बिताएका महाप्रबन्धकलाई काम गर्न नदिन भनेर कर्मचारीले निगमको बिजुली बत्ती र नेटको लाइन काटिदिए ।

‘महाप्रबन्धक आएर अफिसको कुनै पनि काम नगरुन् भनेर बत्ती र नेट काटेका हौं,’ नेपाल वायुसेवा कर्मचारी पूर्वमहासचिव नरेश यादवले बताए ।

सयौँ कर्मचारीको नारावाजीबीच महाप्रबन्धक पौडेल चार तलामाथिबाट प्रहरी घेरामा तल ओर्लिए । कर्मचारीले पत्तै पाएनन् । वायुसेवा निगमको गेट अगाडि तयारी अवस्थामा राखिएको गाडीमा कतिखेर प्रहरीले उनलाई रेस्क्यू गर्‍यो कसैलाई पत्तो भएन । कर्मचारी यताबाट गयो, उताबाट गयो भन्दै भवन वरीपरी घुमिरहे । तर, पौडेल सुटुक्क बाहिरिइसकेका थिए ।

 निगमको संचालक समितिले गत बिहीबार निगमलाई कम्पनीमा लैजाने आशयका साथ प्रस्तावित मोडल पर्यटन मन्त्रालय पुर्‍याएसँगै कर्मचारीले आन्दोलन गर्दै आएका छन् । बुधबार महाप्रबन्धक पौडेलले आन्दोलनरत कर्मचारीलाई वार्तामा बस्न आह्वान गरेका थिए । तर, नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता आह्वान गरेपछि पुनः कर्मचारी विच्किएका हुन् ।

महाप्रबन्धकभन्दा तल्लो तहका नायब प्रबन्धकसँग आफूहरू वार्तामा नबस्ने नेपाल वायुसेवा कर्मचारी संगठनका पदाधिकारीले बताएका छन् । ‘वार्तामा हामी उहाँले बनाएको व्यक्तिसँग बस्दैनौ । पर्यटन मन्त्रालयसँग मात्र वार्ता हुने छ,’ आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष ऋषिकेश पन्थीले भने ।


प्रतिक्रिया

One thought on “हाकिमलाई ‘…चोर देश छोड’ भन्दै कर्मचारीको अभद्र नारावाजी, बिजुली र नेट पनि काटिदिए (भिडियो)

  1. वायुसेवा निगम घाटामा जानुमा कर्मचारी पनि कम जिम्मेवार छैनन् । आन्दाेलनका नाममा अराजक कृयाकलाप र अपशब्द प्रयाेग निन्दनीय हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर