कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने – Nepal Press

कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने

काठमाडौं । कोरोनाविरुद्धको खोप पर्याप्त नभएको र त्यसका लागि सरकारले यथेष्ट प्रयत्न नगरेको आवाज उठिरहेको छ । तर, नेपालले पहल गरे जति सबै खोप एकैचोटि नेपाल आए भण्डारणको समस्या हुने देखिएको छ ।

नेपाल सरकारले अहिले रुस, बेलायत, चीन र भारतबाट खोप ल्याउन पहल गरिरहेको छ । चीनबाट  केहीदिनमा १० लाख डोज खोप नेपाल आइपुग्दैछ ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेन, चीनका राष्ट्रपति सी जिङपीङ, बेलायती महारानी एलिजाबेथ द्वितिया, रुसी समकक्षी भ्लादिमिर पुटिन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् ।

यदि सबैले खोप दिए र नेपालले खरिदका लागि प्रक्रिया अघि बढाएका ठाउँबाट खोप आयो भने कहाँ राख्ने भन्ने चिन्ता भएको बताउँछन्, खोप शाखाका प्रमुख डा. झलक गौतम ।

कोरोनाविरुद्धको खोपलाई अत्यन्त चिसोमा राख्नुपर्ने हुन्छ । कुनै खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ भने कुनै माइनस २ देखि ८ डिग्री सेल्सियस चिसोमा भण्डारण गर्नुपर्ने हुन्छ ।

कुन खोप कति तापक्रममा राख्नु पर्छ ?

फरक देशबाट ल्याइएको खोपलाई फरक-फरक ठाउँमा राख्नुपर्ने हुन्छ । किनकि, सबै खोपलाई एकै तापक्रममा भण्डारण गर्न मिल्दैन । त्यसका लागि आवश्यक कोल्ड चेन नेपालमा छैन ।

अमेरिकाबाट ल्याइने खोप फाइजरको भण्डारण सबैभन्दा चुनौतीपूर्ण छ । उक्त खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । उक्त कम्पनीको खोप पग्लियो भने पुनःभण्डारण गर्नसमेत नसकिने कम्पनीले जनाएको छ । यसको लागि विशेष रेफ्रिजेटरको आवश्यकता पर्छ ।

त्यस्तै अमेरिकामै बनेको जोन्सन एण्ड जोन्सनको खोप भण्डारणका लागि २ देखि ८ डिग्री सेल्सियस बीचको तापक्रम चाहिन्छ । खोपको सुरक्षामा ध्यान दिन नसके खोपले काम नगर्ने कम्पनीले जनाएको छ ।

भण्डारण गर्न सजिलो हुने भएकाले सरकारले अमेरिकामा उत्पादित अन्य खोप भन्दा जोन्सन एण्ड जोन्सन खोप खरिद गर्न बढी जोड दिएको छ । त्यस्तै उक्त खोप एक डोज मात्रै लगाए पुग्छ ।

अमेरिकामा नै उत्पादन भएको मोडेर्ना खोप पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । तर, खोप ढुवानी गर्नको लागि भने माइनस ५० देखि माइनस १५ डिग्री (५८ डिग्री फरेनहाइट देखि ५ डिग्री फरेनहाइट) को बीचमा राखेर ल्याउनुपर्ने हुन्छ ।

भारतको कोभिसिल्ड खोपलाई २ देखि ८ डिग्री ताक्रममा सुरक्षित राख्न सकिन्छ । यो तापक्रम सामान्य फ्रिजमा हुने तापक्रम हो ।

त्यस्तै रुसले उत्पादन गरेको स्पूतनिक-५ खोपलाई २ देखि ८ डिग्रीको तापक्रममा सुरक्षित राख्न सकिन्छ । यसैगरी सिनोर्फाम कम्पनीले उत्पादन गरेको चीनको भेराेसेल खोपका लागि ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । जुन खोप भण्डारण गर्न र सुरक्षित राख्न सजिलो हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२० लाख डोजभन्दा बढी राख्न समस्या छः खोप शाखा

विभिन्न देशबाट एकैपटक ठूलो परिमाणमा खोप आइपुगे भण्डारण गर्न समस्या हुने खोप शाखाले जनाएको छ । शाखाका प्रमुख गौतम भन्छन्, ‘हामीसँग अहिले २० लाख डोज खोपसम्म भण्डारण गर्ने क्षमता छ । त्यो भन्दा धेरै आएमा राख्न गाह्रो छ ।’

खोपको प्रभावकारिता कायम गर्न खोप उत्पादनको समयदेखि लगाउने बेलासम्म तोकिएको तापक्रममा राख्नुपर्छ । नत्र खोपले काम नगर्ने विज्ञहरू बताउँछन् ।

खोपलाई परिवहन, भण्डारण, वितरण र लगाउने बेलासम्म एउटा खास तापक्रम कायम राख्ने प्रणाली ‘कोल्ड चेन’ हो । कोल्ड चेनमा खोपलाई चाहिने तापक्रम अनुसारको रेफ्रिजेरेटरमा राखिएको हुनुपर्दछ ।

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै क्षमताको भण्डारण छ, तर त्यहाँ कोल्ड चेन छैन । डा. गौतम भन्छन्, ‘अहिले भण्डारणको समस्या छ, तर यही कारण खोप नल्याउने भन्ने हुँदैन ।

अहिल एयरपोर्टबाहेक ७ वटै प्रदेश अस्पतालमा खोप भण्डारण केन्द्र छन् । उनले थपे, ‘अहिलेकै अवस्थामा त भण्डारणको समस्या छैन । एकैचोटि धेरै खोप आयो भने मात्रै समस्या हो । एकैचोटि धेरै मात्रामा खोप आए निजी कम्पनीलाई भण्डारणको जिम्मा दिने तयारी भइरहेको डा. गौतमले बताए ।

नेपालमा आउन सक्ने सम्भावना भएको फाइजर खोपको भण्डारणका लागि भने रेफ्रिजेरेटरको अभाव भएको उनको भनाइ छ । फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । ‘हामीसँग ७० युनिट स्पेस छ, जहाँ २ देखि ८ डिग्री सेल्सियस तापक्रमको ‘कोल्ड चेन’ छ’, डाक्टर गौतमले भने ।

भण्डारण विस्तारको तयारी गर्दैछौंः मन्त्रालय

नेपालमा कोरोनाविरुद्धको खोप भण्डारणका लागि पर्याप्त ठाउँ नभएको स्वीकार्छन्, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी । ‘हाम्रा स्वास्थ्य संस्थामा खोप राख्नका लागि पर्याप्त ठाउँ छैन’ उनी भन्छन्, ‘हामी कहाँ रेफ्रिजेरेटर नै कम छन्, भएकामा पनि लामो समयसम्म राख्न सकिने अवस्था छैन ।’

यसअघि यस्ता रेफ्रिजेरेटरको कम आवश्यकता भएकाले विस्तारमा धेरै जोड नदिएको उनले बताए । ‘अब भने माइनस ७० डिग्री सेल्सियससम्मकै खोप भण्डारण बनाउने तयारी भइरहेको छ’ उनले भने, ‘त्यसका लागि हामी छलफल गरिरहेका छौं ।’

कहाँबाट कति आउँदैछ खोप ?

सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन मित्रराष्ट्रहरूसँग पहल गरिराखेको छ । यसअघि चीन र भारतले कोभिड १९ विरुद्धको ३० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराइसकेको छ । बेलायत, रुस, अमेरिकाले पनि अनुदानमा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकार पनि चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार खोप निर्माता कम्पनी र ती देशका सरकारसँग खोप खरिद प्रक्रिया अघि बढेको छ ।

नेपाल सरकारले चीनसँग भेरोसिल, भारतसँग कोभिशिल्ड, रुससँग स्पुतनिक ५, अमेरिकासँग जोन्सन एण्ड जोन्सन, मोर्डर्ना, नोभाभ्याक्स, फाइजरलगायतका कम्पनीको खोप खरिद गर्न लागेको हो ।

अमेरिकाले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरे पनि अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी छ ।

यता, नन-डिस्क्लोजर सहमतिअनुसार चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको छ ।    एक साताभित्र सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आउँदैछ । चीनसँग खोप खरिद सम्झौता अघि बढेको छ । सोही अनुसार पहिलो पटक खरिद गरेको खोप लिनको लागि नेपाल वायुसेवा निगम चीनतर्फ जादैछ भने आगामी साउनसम्म बाँकी ३० लाख खोप पनि आउने मन्त्रालयले जनाएको छ ।

थप खोप खरिदका लागि सरकारले भारतलाई अग्रिम भुक्तानी गरिसकेको छ । १७ लाख डोजका लागि भुक्तानी भए पनि भारतबाट खोप आउने टुंगो भने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *