हल्ट प्राइजको ४२ औं स्थानमा नेपाली विद्यार्थी, अगष्टमा फाइनल प्रतिस्पर्धा – Nepal Press

हल्ट प्राइजको ४२ औं स्थानमा नेपाली विद्यार्थी, अगष्टमा फाइनल प्रतिस्पर्धा

काठमाडौं । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा नेपालका विद्यार्थी ४२ औं स्थानमा उक्लिएका छन् । उनीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएका हुन् ।

हल्ट प्राइजमा यस वर्षको थिम ‘हल्ट प्राइज २०२१ फूड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ ।

यस वर्ष विश्वभरका १ सय २१ देशबाट ३ सय भन्दा बढी विश्वविद्यालयका ३ लाख बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् । विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

पुल्चोक क्याम्पसमा अध्ययनरत चार विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउ खेती गर्ने नयाँ प्रविधिको विकास गरेका हुन् । उनीहरुले विकास गरेको प्रणाली अन्तर्गत घरमै च्याउ फलाउने, फलाएर व्यापार तथा आयआर्जन गर्न सकिने र परम्परागत च्याउ खेती गरिहेकाहरुलाई सहजता हुने बताइएको छ ।

उनीहरुका अनुसार पारिवारिक आवश्यकतालाई मध्यनजर गरी प्रति महिना ८ केजी र व्यापारिक तथा पेशागत कृषिलाई ध्यानमा राख्दै प्रति महिना ३६ केजीसम्म च्याउ उत्पादन गर्न सकिने मेशिनको विकास गरिएको हो ।

स्मार्ट प्रविधिमार्फत् त्यसभित्रको हावापानी नियन्त्रण गर्न सकिने र मेशिनको उपयोग गरी बाह्रै महिना उत्पादन गर्न सकिने उनीहरुको दाबी छ । यस घरेलु खेती प्रणलीलाई हाल काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने उनीहरुको तयारी छ भने निटक भविष्यमै यस उपत्यका बाहिर लैजाने उनीहरुको सोच छ ।

मशूर नाम दिइएको यो प्रविधि काठमाडौँमा आयोजित ‘काठमाण्डू इम्प्याक्ट समिट’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

यस वर्षको ‘हल्ट प्राइज टप ४२’ भित्र प्रवेश गरेको मशूरले फाइनल प्रतिस्पर्धा आगामी अगष्ट ८ मा लन्डनमा गर्दैछ । सो प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीहरुले अन्तिम तयारी गर्दैछन् । तर, ट्राभल र क्वारिन्टीनको खर्च आफैले बेहोर्नु पर्ने भएकाले विद्यार्थीहरुले आम नागरिक समक्ष सहयोगको समेत अपील गरेको छ । इच्छुकले निम्न माध्यामबाट सहयोग गर्न सक्नुहुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर