बुटवल-बेलहिया सडक बनाउन ठेकेदारसँग ८ दिनको कागज – Nepal Press
समाचार प्रभाव

बुटवल-बेलहिया सडक बनाउन ठेकेदारसँग ८ दिनको कागज

सीडीओ भन्छन्- काम शुरू नगरे मुद्दा चलाउँछु

रुपन्देही । ठेकेदारलाई कागज गराएपछि बुटवल-बेलहिया व्यापारिक सडक आयोजनाको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक खण्डको काम शुरू हुने भएको छ ।

एक दशकअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित थालिएको बुटवल-बेलहिया सडकखण्ड विस्तारको काम ठप्प भएको समाचार नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

गृहमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसका ठेकेदारलाई खोजेर ८ दिनभित्रमा काम शुरू गर्ने कागज गराएको छ । कन्चनजंगा जेभीका संचालक सुवित श्रेष्ठ र विरुवा कन्ट्रक्सनका इन्जिनियर प्रविन मिश्रलाई प्रशासनले कागज गराएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निगरानीमा राखिएको छ । गतवर्ष अर्थमन्त्री पौडेलले यो सडकखण्ड शुभारम्भ गर्दा निर्धारित समयमै काम सकाउने ठेकेदारलाई मञ्चबाटै प्रतिबद्धता गराएका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले प्रशासनमा झिकाएर श्रेष्ठलाई ८ दिनभित्रमा काम शुरू गर्ने गरी कागज गराएका छन् ।

लगातार प्रतिबद्धता पूरा नगर्ने गरेपछि प्रशासनले प्रशासनिक कारवाही शुरु गरिसकेको तामाङले बताए । उनका अनुसार ८ दिनमा पनि काम शुरू नभए मुद्दा चलाएर थुनामा राखिने छ ।

सम्पर्कविहीन भएका ठेकेदारलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, व्यापारिक मार्ग विस्तार आयोजना, बेलहिया बुटवल सडकका योजना प्रमुख जयलाल मरासिनीले पटक पटक स्पष्टीकरण सोधेका थिए ।

२०७३ साल चैत्रमा ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर बसेको कन्चनजंगा विरुवा जेभीले साइड खाली भएर पुनः शिलान्यास भएको आधा वर्ष बित्दा पनि काम शुरु नै नगरेपछि यसको आलोचना बढेको थियो ।

ठेक्का पाएदेखि हालसम्म ३ पटक म्याद थप भएकोमा अघिल्लो २ पटक अदालतमा मुद्दा विचाराधीन रहेका कारण भएपनि अदालतबाट मार्ग प्रशस्त भएपछि पनि एक पटक म्याद थप भइसकेको छ । २०७७ माघ १४ गते अर्थमन्त्री पौडेलले बुटवलको राजमार्ग चौराहामा शिलान्यास गर्दा समेत ठेकेदार सुवित श्रेष्ठले मञ्चबाट भाषण गर्दै सोही दिनबाट काम शुरु गर्ने र एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

सर्वोच्चले मार्ग प्रशस्त गरेसँगै परियोजना र स्थानीय सरकारको पहलमा ६ महिना अघि नै सडक विस्तारको लागि डोजर समेत प्रयोगगरी सडक किनारका घर-टहरा हटाएपनि ठेकेदारको लापर्वाहीका कारण निर्माण कार्य अलपत्र भएको हो । सडक किनारमा घरटहरा भत्काउँदा निस्केका सामग्रीहरुले बुटवलको मख्य राजमार्ग खण्ड नै खण्डहरजस्तै बनेको छ ।

यो सडक निर्माणका लागि कन्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो ।

लामो समय विवादित राजमार्ग चौराहा चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणको लागि सर्वोच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रशस्त गरेपछि सरकारले तेस्रो पटक २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको हो ।

ठेकेदारलाई पटकपटक मौखिक ताकेदा गर्दापनि काम नगरेपछि कार्यालयले पत्राचार गर्नुपरेको योजना प्रमुख जयलाल मरासिनीले बताए ।


प्रतिक्रिया

One thought on “बुटवल-बेलहिया सडक बनाउन ठेकेदारसँग ८ दिनको कागज

Leave a Reply

Your email address will not be published. Required fields are marked *