बाढीबाट क्षतिग्रस्त पुलको अध्ययन गर्न सहसचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन – Nepal Press

बाढीबाट क्षतिग्रस्त पुलको अध्ययन गर्न सहसचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । बाढीबाट क्षतिग्रस्त पुलको अध्ययन गर्नका लागि सरकारले सहसचिव एवम सडक विभागका उपमहानिर्देशक पुल महाशाखा प्रमुख दिपक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री बसन्त कुमार नेम्बाङको उपस्थितिमा उच्च पदाधिकारीको सहभागितमा बसेको मन्त्रीस्तरीय बैठकले कार्यदल गठन गरेको हो ।

मन्त्रालयका अनुसार विगत केहि दिनदेखि परेको अविरल बर्षाका कारण देशभरी नै सडक–पुलमा भएको क्षति, विशेष गरी निर्माण सम्पन्न भईसकेका र निर्माणाधीन पुलमा भएको क्षतिको कारणबारे बिश्लेषण गरी आगामी दिनमा यस्ता क्षति न्यूनिकरण गर्न अपनाउनुपर्ने उपायबारे अध्ययन तथा छानविन गरी २०७८ साउन ७ गते भित्र सिफारिस पेश गर्ने जिम्मेवारी दिइएको छ । यस्तै अहिलेकै बर्षात र बाढीबाट क्षतिग्रस्त भएका प्रत्येक पुलको विभागस्तरबाट एक महिना भित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।

क्षतिग्रस्त पुल पुनःनिर्माण गर्न अपनाउनुपर्ने सावधानी, अब निर्माण गर्नुपर्ने पुलमा अपनाउने जगको प्रकार, सुपरस्ट्रक्चरको प्रकार, पुल निर्माणमा गत विगतमा राम्रो कार्य सम्पादन भएका निर्माण व्यवसायीले मात्र टेण्डर प्रक्रियामा समावेश हुन पाउने सम्बन्धमा बोलपत्र–पुस्तिकामा राख्नुपर्ने प्रावधान र पुल निर्माणको म्यानुअल तयार गरी लागू गर्ने विषय प्रतिवेदनमा समेट्नुपर्नेछ ।

यस्तै पुल निर्माणको सुपरिवेक्षणका लागि विभागीय प्राविधिक जनशक्तिको पर्याप्तता, पुल डिजाइन तथा निर्माणमा सडक विभाग र नीजि क्षेत्रका इन्जिनियरलाई तालिमको आवश्यकता र कार्यदलले उचित ठानेका अन्य विषय पनि प्रतिवेदनमा समेट्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर