कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न प्रस्ताव, होम सेन्टरबाट परीक्षा गर्न सकिने सम्भावना – Nepal Press

कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न प्रस्ताव, होम सेन्टरबाट परीक्षा गर्न सकिने सम्भावना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने सरकारसँग प्रस्ताव गरेको छ ।

भौतिकरुपमा परीक्षा संचालन गर्नुपर्ने भन्दै अनुमति मागिएको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले लाखौं परिक्षार्थी सहभागि हुनुपर्ने भएकाले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने समेत बताए । केही समय ढिलाइ भएपनि भौतिकरुपमा परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने बताए । परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने उनले बताए ।

यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको परीक्षा सीसीएमसीले रोक्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा होम सेन्टरबाट पनि गर्न सकिनेतर्फ बहस पनि चलेको छ ।

भाइरस संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको जनाइएको छ । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै होम सेन्टरका बारेमा समेत निर्णय हुने जनाइएको छ ।

परीक्षा तीन घण्टा अवधिको हुने वा के हुने भन्ने निर्णय पनि एकैसाथ हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *