सूचना नदिने प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न सूचना आयोगको निर्देशन – Nepal Press

सूचना नदिने प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न निर्देशन दिएको छ । पाल्पा जिल्ला बगनासकाली–१ घर भई अहिले काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको हो ।

खनालले बुद्धनगर आधारभूत विद्यालयको २०६६ देखि २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, २०६९ को शैक्षिक शत्रदेखि पाठ्यपुस्तक तथा छात्रवृत्ति विवरणको भपाई र विदेशी तथा स्वदेशी सङ्घसंस्थाले २०६९ देखि हालसम्म के कस्ता सामग्री कुन–कुन मितिमा सहयोग गरेका छन् भन्ने विषयमा सूचना माग गर्दै २०७७ भदौ १ गते निवेदन दर्ता गरेका थिए ।

विद्यालयको सूचना अधिकारी र कार्यालय प्रमुखबाट पनि सूचना नपाएपछि खनालले राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २६ गते पुनरावेदन दर्ता गरेका थिए । पुनरावेदन दर्ता पछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान अनुसारनागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगको गत बिहीबार बसेको इजलाशले ५ हजार जरिवाना तिर्न निर्देशन दिएको हो ।

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम ५ हजार जरिवाना हुने फैसला गरेको आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आयोगबाट भएका आदेश बुझाउन जाँदा प्रधानाध्यापकले पत्र बुझ्न आनाकानी गरी विभिन्न बहाना र भाका राखी पत्र बुझ्न मानेका थिएनन् ।

यस्तै पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध गराएका थिएनन् । यति मात्र नभई आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको, गैरजिम्मेवार व्यवहार देखाएकाले संविधान अनुसार नागरिकको मौलिक हकको प्रचलनका लागि विद्यालयका पदाधिकारीलाई दण्डित गर्नुपर्ने देखिएको आयोगका प्रमुख आयुक्त गुरुङले बताए ।

सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ को उपनियम ७ बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिन, बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराई दिन र आयोगलाई समेत जानकारी दिन शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंमा लेखी पठाएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पुनरावेदकलाई सूचना दिनू भनी लेखी पठाएको, बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकले दिनुपर्ने सूचना बिनाकारण दिन ढिलाई गरेको देखिँदा जति दिन ढिलाइ गरेको हो प्रतिदिन २ सयका दरले जरिवाना हुने ठहरसमेत असार १७ गतेको इजलाशले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर