चितवन कांग्रेस: योगदानमा अगाडि, अवसरमा पछाडि – Nepal Press

चितवन कांग्रेस: योगदानमा अगाडि, अवसरमा पछाडि

७ दशकमा चितवनबाट एकजना पनि कांग्रेस केन्द्रीय समितिमा पुगेनन्

चितवन । आन्दोलन, परिवर्तन, विकासमा चितवन जहिल्यै अग्रणी जिल्ला मानिन्छ । राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा चितवनको योगदान ऐतिहासिक छ । यद्यपि मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भने चितवनको भूमिका सधै उपेक्षित छ ।

कांग्रेस यतिबेला महाधिवेशनको तयारीमा छ । कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्लाका रुपमा चितवन परिचित छ । तर हालसम्म एक जना पनि चितवने नेता कांग्रेसको केन्द्रीय राजनीतिमा पुगेका छैनन् । कहिले केन्द्रीय नेतृत्व त कहिले कार्यकर्ताको मन जित्न नसकेका कारण केन्द्रीय राजनीतिमा चितवन आज पर्यन्त स्थापित हुन सकेको छैन ।

कांग्रेसको केन्द्रीय सदस्य पदका लागि चितवनबाट ११ औं महाधिवेशनमा ८ जना, १२ औं महाधिवेशनमा १९ जना र १३ औं महाधिवेशनमा ११ जनाले उम्मेदवारी दिए । तर, मत नगण्य ल्याएर पराजित भए । एउटै जिल्लामा ९ जनासम्म केन्द्रीय सदस्य बिजयी हुँदा चितवनका कांग्रेसीले कहिल्यै सिको गर्न जानेनन् ।

संविधानसभाको निर्वाचनमा टिकट र समानुपातिकमा पनि नपरेपछि पूर्व जिल्ला पार्टी सभापति कृष्णलाल सापकोटालाई तत्काली सभापति गिरिजाप्रसाद कोइरालाले आमिन्त्रत केन्द्रीय सदस्य बनाएका थिए । त्यसबाहेक केन्द्रको कांग्रेसमा चितवनको उपस्थिति देखिँदैन । आम निर्वाचनमा समानुपातिकतर्फ एक दर्जन नेतालाई सूचीमा राखेपनि कांग्रेसको केन्द्रीय समितिमा भने चितवनको प्रतिनिधित्व हालसम्म हुन सकेको छैन ।

चितवन कांग्रेस सुस्त हो र ?

कांग्रेसका लागि चितवन उर्वर भूमि नै हो । राजनीतकि परिवर्तनका आन्दोलनमा चितवन अगाडी नै थियो । २०१७ साल पुस १ गते पहिलो संसद भंग गरिएपछि कांग्रेसले गरेको सशस्त्र आन्दोलनमा चितवनका एक दर्जन बढीले सहादत पाए ।

पञ्चायत व्यवस्था विरुद्ध चर्को विरोध गर्ने नेता, कार्यकर्ता भएको जिल्लामा पनि चितवन चिनियो । २०३६ सालको जनमत संग्रहमा चितवनले ८ हजार बढीको मतान्तरसहित निर्दलीय पक्षलाई उछिनेर बहुदल पक्षको जिल्ला भनेर स्थापित गर्‍यो । २०४२ सालको सत्याग्रह आन्दोलनमा धेरै गिरफ्तारीमा पर्ने जिल्लाका रुपमा चितवन दर्ज भयो । त्यो बेला चितवनबाट ५ सय ५३ जना गिरफ्तारीमा परेका थिए ।

२०४६ सालको जनआन्दोलनको पहिलो सहिद चितवनकै गणेश पौडेल थिए । संस्थापक नेता गणेशमान सिंह चितवनकै ठोरीबाट राणाविरोधी संघर्षका क्रममा २००७ असोज २१ मा पक्राउ परे । ठोरी २०३५ सालसम्म चितवनमै पर्दथ्यो । कांग्रेसका विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाले बाराम्बार आइरहने जिल्ला पनि चितवन हो ।

दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइराला चितवनकै क्षेत्र नम्बर ४ बाट १० हजार २१ मतान्तरले विजयी भए । पार्टी सभापतिलाई जिताउन कांग्रेस कस्सिएर लाग्यो । पार्टीको छवि बलियो बनाउन भूमिका खेलेको चितवन भने कहिल्यै केन्द्रीय नेतृत्वको मनमा बस्न सकेन । केन्द्रीय समितिमा दर्जनौ नेता मनोनित हुँदा पनि चितवनले स्थान पाएको छैन ।

केन्द्रीय सदस्यमा पुग्ने बाटो के छ ?

२०७४ सालको संसदीय निर्वाचनमा एमाले र माओवादीले पार्टी एकता गर्ने उद्घोषसहित गठबन्धन गरेपछि जिल्लाको ३ वटै संघीय निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेस पराजित भयो । तर, यी दुई पार्टीबीचको एकता भंग भएर अन्तर कलह बढेपछि निराश चितवनका कांग्रेसी भने खुशी देखिन्छन् ।

चितवन कांग्रेसमा यसपटक १० हजार ८ सय ७ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् । १७ हजार ४८ जनाले नवीकरण गरेका छन् । योसँगै चितवनमा कांग्रेसका क्रियाशील सदस्यको संख्या २७ हजार ८ सय ५५ पुगेको छ । सदस्य संख्या देशभरमै धेरै भएपनि केन्द्रीय राजनीतिमा नेता किन पुगेनन् त ? चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रमा चितवन स्थापित हुने बताउँछन् । ‘कांग्रेसको केन्द्रमा चितवन स्थापित हुनुपर्छ भन्ने सहानुभूति देशैभरी बढेको छ ।

त्यसैले यसपटक एकताबद्ध भएर उम्मेदवारी पनि दिन्छौ, जितेर पनि देखाउँछौं’, श्रेष्ठले नेपाल प्रेससंग भने । उनले ७ दशकदेखि थाँती रहेको काम यसपटक पूरा गर्ने अवसर रहेको बताए । ‘निर्वाचन पनि नजित्ने नेतृत्वले पनि नपत्याउने जिल्लाजस्तो देखिएको छ चितवन । यसपटक केन्द्रीय महाधिवेशनबाट त्यो पहिचान फेर्नेछौं । केन्द्रीय समितिमा चितवनको सम्मानजनक सहभागिता गराउँछौं’, श्रेष्ठले भने । उनी स्वयं आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदार रहेका छन् ।

पूर्व शिक्षा राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति शेषनाथ अधिकारी यसपटक महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भइरहेको बताउँछन् । विगतमा चितवनबाट सल्लाहबिनै धेरै उम्मेदवार बन्दा टिममा पनि नपर्ने र चुनाव पनि नजितने अवस्था रहेको थियो । ‘चितवनबाट जति थोरै उम्मेदवार हुन्छौं उत्ति नै जित्ने सम्भावना रहन्छ । त्यसैले अहिले सम्भावित उम्मेदवारबीच छलफल गरिरहेका छौं’, अधिकारीले नेपाल प्रेससंग भने ।

पूर्व सांसद भीमबहादुर श्रेष्ठ एकले अर्कालाई नेता नमान्ने प्रवृत्तिका कारण चितवन कांग्रेस पछाडि परेको बताउँछन् । ‘चितवनमा नेता नभएका होइनन्, आपमसै भिडेर नेतृत्वमा पुग्न सकेनन् । मनोनित गर्दापनि एउटालाई गर्दा अर्को रिसाउला भनेर चितवनलाई उपेक्षा गरिएको होला’, श्रेष्ठले भने । विगतमा केन्द्रीय सदस्यमा पराजित भइसकेका श्रेष्ठ यसपटक सबै मिलेर चितवनको प्रतिनिधित्व स्थापित गराउनुपर्ने बताउँछन् ।

लामो समय चितवन कांग्रेस हाँकेका पूर्व सभापति कृष्णलाल सापकोटा १० र ११ औं महाधिवेशनमा पराजित भएका थिए । जिल्लाबाट धेरै उम्मेदवार हुने र देशभर नेटवर्क पुर्‍याउन नसकेकोले अहिलेसम्म प्रतिनिधित्व सुनिश्चित नभएको सापकोटाको बुझाई छ । ‘देशभरको भोट नल्याई महाधिवेशन जितिदैन । जिल्लाभित्रकै नेता नमिलेपछि बाहिरकाले पनि भोट दिन गार्हो मान्छन् । यसपटक पनि उम्मेदवारहरु मिलेनन् भने अवसर गुम्नसक्छ’, सापकोटाले भने ।

चितवन कांग्रेसका पूर्व सभापति तोपमान सिंह गुरुङ गुटबन्दीमा नफसे कांग्रेसको केन्द्रीय राजनीतिको अवसर चितवनले पाउने बताउँछन् । “प्रत्यासी नै धेरै भएपछि भोट कसरी आउँछ ? द्वन्द्व बढाएर जित हुन्छ र ?” उनी भन्छन् । आसन्न महाधिवेशनमा पनि चितवनबाट आधा दर्जन बढी प्रत्याशी हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर